धुलिखेल-खावा ४ किमि सडक विस्तारकाे काम तीव्र, नयाँ ठेक्कासँगै काम अघि बढ्यो

मंसिर २९, २०८२ |पुजन धिताल
धुलिखेल-खावा ४ किमि सडक विस्तारकाे काम तीव्र, नयाँ ठेक्कासँगै काम अघि बढ्यो

काभ्रे । काठमाडौंसँग उत्तरी नाका जोड्ने सडक अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा ४ किमि सडकको काम तिव्र गतिमा भइरहेको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरकाअनुसार एवन काली जेभी काठमाडौंले ३१ करोड ५६ लाखको बजेटमा नयाँ ठेक्का लिएसँगै कामले तिव्रता पाएको हो । कम्पनीले १४ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेल चोकदेखि खावासम्म ४ किलोमिटर सडक खण्डको विस्तार कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुरले नयाँ ठेक्का २०८२ कार्तिक २७ गते १४ महिना समय दिएर लगाएको हो। कार्यालयकाअनुसार एवन काली जेभी काठमाडौंले उक्त कार्यका लागि ३१ करोड ५६ लाखको बजेटमा ठेक्का लिएको हो । 

आगामी २०८२ कार्तिक २७ गते एवन काली जेभी काठमाडौंसँग सम्झौता भएको सडक डिभिजन कार्यालय भक्तपुरका सब-ईन्जिनियर धनदेव जोशीले जानकारी दिनुभयो । सम्झौताअनुसार अहिले सडक विस्तारको काम सुरू भइसकेको जोशीले बताउनुभयाे । समय सीमामै निर्माण व्यवसायीले काम सम्पन्न गर्ने अपेक्षा राखिएको उहाँले बताउनुभयाे । 

चार किलोमिटर सडक खण्डको विस्तार कार्यअन्तर्गत अहिले मेसिनरी वाल, प्लम कन्क्रिट, स्लोप प्रोटेक्सनलगायतका कामहरू भइरहेका छन्। बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने, दुई चरणको कालोपत्रे डीबीएम र आस्फाल्ट कालोपत्रे गर्ने, स्लोप प्रोटेक्सनको काम गरिनेछ। 

जसमा स्लोप प्रोटेक्सनको काम अली चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयाे। ' हामीलाई काम सम्पन्नका लागि १४ महिनाको समय सीमा दिइएको छ ,' उहाँले भन्नुभयाे, ' त्योभन्दा अघि नै सक्ने योजना रहेको छ। ट्राफिक डाइभर्सनलाई व्यवस्थापन गर्न सकिएको अवस्थामा आगामी असार मसान्तसम्म काम सक्ने गरी कार्य विवरण पेस गरिएको छ। '

गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० गते रू २० करोड १९ लाख ४६ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेर काम गरेको भए पनि सम्झौताअनुसार २०८० चैत १९ सम्म काम सकिनु पर्नेमा, त्यसको ११ महिनासम्म म्याद थप्दा पनि २५ प्रतिशत मात्रै काम भएपछि सडक विभागले ठेक्का रुद्द गरेको थियो।

ठेक्का रुद्द भएपछि गौरी-पार्वती निर्माण सेवा कम्पनी उच्च अदालत पाटनमा मुद्दा हालेका थिए। उक्त मुद्दा गत असार २५ गते खारेज भएपछि डिभिजनले नयाँ प्रक्रिया अनुसार पुनः ठेक्का सी एम काली-एवन जेभीसँग ३१ करोड ८६ लाख (भ्याटबाहेक) सम्झौता गरेको छ। 

नयाँ ठेक्का लागेसँगै वर्षौंदेखि बर्खामा हिलो र घाम लाग्दा धुलोको सास्ती झेल्दै आएका नागरिकले भने अब भने सडक समयमै सकिने आशा राखेका छन्।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।