झुठा जाहेरी फिर्ता लिन ज्योति विकास बैंकलाई लघुवित्त संघर्ष समितिको अल्टिमेटम

मंसिर २८, २०८२ |आरएन विश्वास
झुठा जाहेरी फिर्ता लिन ज्योति विकास बैंकलाई लघुवित्त संघर्ष समितिको अल्टिमेटम

सप्तरी । सप्तरीको रूपनीस्थित ज्योति विकास बैंकले झुठा मुद्दामा ऋणी र अभियन्ताहरूलाई फसाउन खोजेको भन्दै प्रहरीमा दिएको जाहेरी फिर्ता लिन सरोकारवालाहरूले माग गरेका छन्।

ऋणीहरूको तर्फबाट लघुवित तथा वित्तीय शोषणविरूद्धको संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरी झुठा मुद्दामा आतंकित गराउन खोजेको भन्दै खारेज वा फिर्ताको माग गरेका हुन् । ज्योति विकासबाट ऋण लिएकाहरूले तत्काल रकम बुझाउन नसक्दा धितोवापतको १५ करोडको जग्गालाई तीन करोडमा लिलामी गर्न खोजेको दाबीसमेत उनीहरूले गरेका छन् । 

आफूहरूको आग्रह स्वीकार नगरेर सिधैं लिलामी प्रक्रियामा गएपछि जग्गास्थलमै ऋणी, अभियन्ता र बैंकका कर्मचारीबीच भएको धक्कामुकीमा बैंकले सात जनामाथि झुठा जाहेरी दिएर फसाउन खोजेको संघर्ष समितिका इन्चार्ज अर्जुन विश्वकर्माले बताउनुभयो।

यता इलाका प्रहरी कार्यालय कञ्चनपुरले उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्रीय प्रशिक्षण विभागका युवराज रसाइलीले समूहको नाममा लघुवित्त संस्था र बैंकहरूले ऋणीहरूलाई अनावश्यक दुःख दिने गरेको र ऋणी मात्र नभइ साक्षीसम्मलाई कालोसूचीमा राख्ने अभ्यास आपत्तिजनक भएको बताउनुभयो।

पत्रकार सम्मेलनमा अभियानीहरुले नेपाल सरकारसँग भएकाे लघुवित्त पीडितको प्रतिवेदन बिना सर्त कार्यन्वयन गर्नुपर्ने, भूमिहिन तथा वित्तीय शोषणमा परेका पीडितहरूलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजी जाली तम्सुक रद्द गर्नुपर्ने, बैंक तथा सहकारीहरूले सम्झौता विपरित असुल गरेको रकम तुरून्त फिर्ता गर्नुपर्ने, ठूला तथा साना व्यवसायहरूलाई कर्जा भुक्तानीको लागि २५ वर्षकाे समय प्रदान गर्नुपर्नेसहितका १८ बुँदे माग सम्बाेधन गर्नसमेत आग्रह गरेकाे छ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।