
प्यूठान । अमिला जातका फलफूलमा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् ।
पाक्ने बेलामा हरेक वर्ष फलफूलमा किरा लाग्ने र झर्ने समस्या दोहोरिएपछि किसान चिन्तित बनेका हुन् । प्यूठान नगरपालिका छेपानेका रविलाल रोकामगर अहिले निकै चिन्तित हुनुहुन्छ । अमिला जातका फलफूल सुन्तला र मौसमको व्यावसायिक खेती गर्दै आउनुभएका रोका सुन्तला र मौसम पाक्नुअघि नै रोग लाग्ने समस्याले पिरोलिनुभएको हो ।
सुन्तलाको दाना लागेपछि र मौसम पाक्ने बेलामा किरा लागेर झर्ने गरेको छ । गत वर्ष मौसम र सुन्तला बिक्रीबाट दुई लाख रूपैयाँ आम्दानी गर्नुभएका रोकाले यो सिजनमा उत्पादन आधाले घटेर एक लाख रूपैयाँ पनि आम्दानी नहुने बताउँनुहुन्छ ।छेपानेकै रिनाकुमारी घर्तिमगर पनि फलफूलमा रोग लागेपछि निराश हुनुहुन्छ ।
बगैंचा नै खालीखाली भएपछि उहाँको निराशा बढेको हो । एक सय भन्दा धेरै सुन्तला मौसमका बोटबाट गत वर्ष साढे दुई लाख रूपैयाँ आम्दानी गर्नुभएकी रिनालाई पनि यो वर्ष आम्दानी त्यसको आधा पनि नहुने चिन्ता छ । जिल्लामा पछिल्लो समय अमिला जातका फलफूलमा रोग किराको समस्या देखिएको छ ।
जिल्लाको छेपाने, तुषारालगायत क्षेत्रमा सुन्तला, मौसमको राम्रो उत्पादन हुने गरेको छ । तर पछिल्लो समय फलफूलमा आासा किरा पर्ने, पतेरो लाग्नेजस्ता कारणले किसानको चिन्ता बढाएको छ । छेपानेका ४० भन्दा धेरै घरधुरीले गत वर्ष प्रतिपरिवार ५० हजारदेखि साढे दुई लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका थिए । तर यो वर्ष उत्पादन घढेकाले आम्दानी पनि आधा घट्ने आकलन छ ।
रोग किराको प्रकोप बढेपछि फलफूलको बगैंचा नै मासिने अवस्था आएको किसान बताउँछन् । किसानले लगाएका फलफूलमा सेतो औंसा किरा देखिएको हो । जसले फल पाक्नुअघि नै झर्ने समस्या छ । विशेष गरी यो रोग मौसम, जुनार सुन्तलामा बढी देखिएको छ । समयमै रोग किराको समस्या पहिचान गरी उपचार गर्न सकेमात्रै नासिने अवस्थामा पुगेका फलफूलका बगैंचा बच्ने थिए ।