
काठमाडौं । सरकारले आयातित कृषिजन्य वस्तुको क्वारेन्टाइन जाँचमा कडाइ गरेको छ ।
शत्रुजीव जोखिम विश्लेषणका लागि भन्दै सरकारले गत असोजदेखि नै केराको आयात अनुमति रोकिसकेको छ । व्यापारीहरूले भने सल्लाह नै नगरी आयातमा कडाइ गर्दा समस्या भएको बताएका छन् । तर, सरकारले विभिन्न देशबाट आयात हुने केरामा शत्रुजीवको प्रकोप देखिएको र नेपालमा पनि सर्न सक्ने भन्दै प्रवेश अनुमति नदिन परिपत्र गरेको जनाएको छ ।
यसअघि प्रवेश अनुमतिपत्र लिएकाहरूका लागि भने बिरूवा स्वस्थता प्रमाणपत्रको आधारमा मात्र आयात दिन भनेको छ । आयातित केराबाट नेपालमा टी–फोर नामको रोग फैलिसकेको छ । अन्य रोग नफैलियोस् भनेर तत्कालका लागि आयातमा रोक लगाइएको हो ।
नेपाली व्यवसायीहरूले पनि आयातमा निरूत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । केरा व्यवसायी विष्णुहरी पन्तले नेपाल केरामा ७० प्रतिशत आत्मनिर्भर भइसकेकाले आयातमा कडाइ गर्नुपर्ने बताउनुभयो ।