
काठमाडौं । सरकारले गत वर्ष सबैभन्दा बढी कर तिर्नेहरूलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८०-२०८१ मा बढी कर तिर्नेमा संस्थागततर्फ नेपाल दुरसञ्चार प्राधिकरण र व्यक्तिगततर्फ राजबहादुर शाहलाई सम्मान गरिएको हो । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले साेमबार गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले उत्कृष्ठ करदातालाई सम्मान गर्नुभयो । त्यस अवसरमा अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन र सुरक्षित व्यवसायको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उद्योगी व्यवसायीले आर्थिक सुधारका लागि सरकारले निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा जोड दिए । उनीहरूले जेन-जी आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कारबाही गर्न पनि माग गरेका छन् । कर नीति समय सापेक्ष बनाउन र राजश्व बढाउनका लागि करको दर नभै दायरा विस्तार गर्न पनि सरकारलाई सुझाव दिए ।
एकलौटी फर्ममा थर्ड आई इन्टरनेसनल र वस्तु निर्यातको कारोबार गर्नेमा डाबर नेपाललाई पनि सम्मान गरिएको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा भेरिक्स नेपाल, कृषि एवं पशुपन्छी जन्य उद्योगमा पोषक ब्रिडर फार्म तथा बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएका छन् ।
स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ सोल्टी होटल, वस्तु व्यापार कारोबारतर्फ भाटभटेनी सुपर मार्केटलाई सम्मान गरिएको छ । विशेष उद्योगहरूमध्ये आर्थिक वर्ष २०८०-८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने यूनिलिभर नेपाल लिमिटेडलाई पनि सम्मान गरिएको विभागले जनाएको छ ।