
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वभाविका रूपमा बढेको भन्दै गम्भीर चासो देखाउनुभएको छ ।
शुक्रबार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु स्वभाविक नभएको बताउनु भयो । उहाँले कालोसूचीमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो कि भनेर राष्ट्र बैंकले छलफल थालेको समेत बताउनु भयो । गभर्नर अधिकारीले चेक बाउन्सलाई धेरै नै अपराधिकरण गर्न नहुने बताउनु भयो ।
गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गर्नुभयो । उहाँले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा इन्भेस्ट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार नयाँ उद्यमीहरू खोज्न अब चासो दिनुपर्छ । लगानीबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनुपर्छ ।
देशको ग्रोथ नभई कसैको पनि उन्नति नहुने भन्दै पौडेलले इकोनोमी ग्रोथका लागि सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय उदाइरहेको आईटी क्षेत्रमा लगानी गर्न समेत पौडेलले बैंकहरूलाई आग्रह गर्नुभयो । गभर्नर पौडेलले अरू देशमा रहेका नीतिहरूलाई समेत हेरर नेपाललाई अनुकूल हुने पोलिसीहरू ल्याउन राष्ट्र बैंक तयार रहेको बताउनु भयो ।