.png&w=1000&height=550)
काठमाडौं । निजी क्षेत्रका अगुवाहरूले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् ।
उनीहरूले जेन-जी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभुति गराउन नसकेको बताए । आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरूले तत्काल कारबाहीको माग समेत राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थीतिबाट अघि बढ्नुपरेको बताउनुभएको छ ।
राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले गत वर्षका सूचकहर" हेर्दा अर्थतन्त्र सकारात्मक देखिए पनि अहिले अत्यान्तै अप्ठ्यारो स्थितिको सामना गर्नुपरिरहेको बताउनु भयो । उहाँले आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै व्यक्तिवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेन-जी पुस्ताले गरेको आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर भएको भन्दै यसलाई सकारात्मक रूपमा हेरिनुपर्ने बताउनु भयो । भ्रष्टाचार निवारण, परदर्शीता, नीतिगत स्पष्टता आफूहरूले समेत उठाउँदै आएको बताउँदै जेन-जीहरूले उठाउँदै आएका मागहरू पूरा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पाण्डेकाअनुसार नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिहरूले समेत त्यो सन्देश दिएको छ । जेन-जी आन्दोलनले पारेको असरलाई समेत समेटेर परिसंघले अध्ययन समेत गरिरहेको उहाँले बताउनु भयो । उहाँले जनयुद्धहरू भोगिसकेको अर्थतन्त्र र निजी क्षेत्रले जेन-जी आन्दोलनको समेत सामाना गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेन-जी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताउनु भयो । उहाँले सरकारले तत्कालै सुरक्षाको प्रत्याभुति गर्न जरूरी रहेको बताउँदै राष्ट्र बैंकले समेत प्रभावकारी नीति अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले लिने नीतिगत कुराहरू छिनछिनमा परिवर्तन हुँदा निजी क्षेत्रलाई मार पर्ने गरेको बताउनु भयो । प्रतिष्पर्धी कर नीति हुन जरूरी रहेको बताउँदै सरकारले यसमा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।