
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूलाई अघि बढाउनका लागि आवश्यक कानूनी अवरोधहरू हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले वर्षाैँदेखि अड्किएर बसेका उद्योगहरूको फाइल आफूले अघि बढाउनका लागि सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसलाई सहज ढंगले अघि बढाउन अन्तर मन्त्रालयबीचको सहजीकरणमा पनि जोड दिने बताउनु भयो ।
मन्त्री सिन्हाले अर्थतन्त्रलाई अघि बढाउन सरकारले नियन्त्रणकारी भुमिका खेल्न नहुने कुरामा पनि आफू स्पष्ट रहेको बताउनु भयो । मन्त्री सिन्हाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताउनु भयो ।