
जुम्ला । जुम्लामा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले रैथाने उत्पादनको खरिद बिक्री गर्न थालेपछि किसान उत्साहित छन ।
बर्षेनि करोडौंको खरिद हुन थालेपछि रैथाने बालीको संरक्षण र बजारीकरणमा समेत टेवा पुगेको छ । सहकारी सदस्यहरूलाई कृषिमा आकर्षित गर्न बचतका रूपमा बाली खरिद गर्ने, बजारीकरणमा जोड दिने र उत्पादन बढाउने लक्ष्यले सहकारीले सदरमुकाम खलंगामा अर्गानिक मिनिमार्केट समेत खोलेको छ ।
जुम्ला २०६४ सालमै अर्गानिक जिल्ला घोषणा भएको हो । तर किसान आफूले उत्पादन गरेको रैथाने कृषिउपजको बजार अभावले समस्या झेलिरहेका थिए । घरमै थन्किने उत्पादनलाई चन्दननाथ बहुउद्देश्यीय सहकारीले २०७४ फागुनदेखि मिनिमार्केट खोलेर बजारमा पुर्याइदियो । अहिले रैथाने वस्तुको लेबलिङ, प्याकेजिङ र बजारीकरणसमेत प्रभावकारी भइरहेको छ ।
सहकारीको तथ्यांकअनुसार हालसम्म ११ करोडभन्दा धेरैको कारोबार भइसकेको छ । सिमी, चामल, ओखर, भट्मास, स्याउका चाना, चिनु, कागुनो, गहत, जौको पिठोलगायतका वस्तु खरिद बिक्री हुन्छ । जुम्ला आउने पर्यटकदेखि यहाँ कार्यरत कर्मचारीहरू गृहजिल्ला फर्किदा जुम्लाको कोशेलीस्वरूप अर्गानिक खाद्य वस्तु खरिद गरेर लैजान्छन् ।
सबै उत्पादन एकै ठाउँमा पाइने भएपछि पर्यटकलाई पनि सहज भएको छ । सहकारीले सुर्खेत र काठमाडौंमा समेत पसल खोलेर रैथाने वस्तुको व्यापार र प्रचारप्रसार गरिरहेको छ । पहिले पहिले घरमा खपत हुन नसकेमा यतिकै खेर जाने रैथाने उत्पादन राम्रो मेलामा बिक्री हुन थालेपछि जुम्लाका किसान आत्मनिर्भर हुन थालेका छन् ।
उत्पादित वस्तु रूपैयाँमा विनिमय हुन थालेपछि आम्दानीसमेत बढेको छ । विगतमा रूपैयाँ नभई सहकारीमा नियमित बचत हुँदैनथ्यो । तर चन्दननाथ सहकारीले रैथाने उत्पादनलाई रूपैयाँमा विनियमय गर्न थालेपछि सहज भएको छ । सबैभन्दा बढी सिमी, ओखर र मार्सी चामल बिक्री हुने गरेको तथ्यांक छ ।
स्याउको चाना, जिम्बू, टिमुर, चुनो चामल, कागुनो, फापर तथा कोदोको पिठो, अर्गानिक चिया, जौको पिठो, गहतलगायतका सबै कृषिउपज सहकारीले खरिद गर्ने गरेको छ । जुम्ली भेडाको ऊनबाट बनेको राडीपाखी, हिमाली भेडाको ऊनको कोटेपाखो, खरायोको टोपी, खसीको मासुसमेत बिक्री हुन्छ ।
बर्षेनि करोडौंको अर्गानिक खाद्यन्न वस्तु बिक्री भए पनि सरकारले जुम्लाको रैथाने बालीको उत्पादन बढाउन ठोस कार्यक्रम ल्याउन सकेको छैन । कृषिउपजले सिजनमा मूल्य नपाउने, रोग किरा लागेमा उपचार नपाउनेजस्ता समस्या किसानले भोगिरहेका छन् । तर पनि चन्दननाथ सहकारीले मिनिमार्केट सञ्चालनमा ल्याएपछि रैथानेबालीको खरिदबिक्री बढ्दा किसान उत्पादन बढाउने प्रयत्नमा लागेका छन् ।