
रूपन्देही । रूपन्देहीमा उत्पादन भएको आलुको परिकार फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थालेको छ ।
शुद्धोधन गाउँपालिकामा रहेको फस्ट च्वाइस फुड्स लिमिटेडले उत्पादन गरेको ४२ टन प्रिमियम फ्रोजन फ्रेन्च फ्राइज पहिलोपटक भैरहवा भन्सार कार्यालयबाट बेलहिया नाका हुँदै मंगलबार अमेरिका पठाएको हो । अमेरिकामा ५ सय टन फ्रेन्च फ्राइज पठाउने सम्झौता छ । सुरूवातमा ४२ टन पठाइएको हो ।
किसानको पौरख हाम्रो गौरव भन्ने नारासहित २६ जिल्लाका ३५ हजार किसानहरूले उत्पादन गरेको आलुलाई प्रशोधन गरी परिकार बनाउन रूपन्देहीमा उद्योग खोलिएको छ । फ्रन्च फ्राइज स्वादिलोसँगै गुणस्तरीय पनि भएकाले निर्यातका आवश्यक मापदण्ड पूरा गरी अमेरिका पठाउन लागेको सञ्चालक कृष्ण पौडेलले बताउनुभयो ।
बेलहिया नाकाबाट छुटेका दुई कन्टेनर फ्रेन्च फ्राइज कलकत्ता बन्दरगाह हुँदै ५५ दिनमा अमेरिका सामान पुग्नेछन् । ४२ टन फ्रेन्च फ्राइज बिक्रीबाट उद्योगीलाई ४० हजार डलर प्राप्त हुनेछ । अमेरिका निर्यात भएको फ्रेन्च फ्राइज साढे २ किलोको प्याकेट रहेको छ । ४२ टन आलुका परिकार बोकेर अमेरिका गएका कन्टेनर पुगेपछि पुनः थप फ्रेन्च फ्राइच पठाइने छ ।
किसानबाट खरिद गरी प्रशोधन गरी तयार पारिएको आलुका परिकार तेस्रो मुलुकमा पठाउन भैरहवा भन्सारले पनि आवश्यक सहजिकरण गरिरहेको छ । नेपालको उद्योगबाट खाद्यको प्रमाणपत्र लिने, भारतीय भन्सारसँग समन्वय गर्ने, एडभान्स पेमेन्ट प्राप्त गरिसकेपछि मात्र फ्रेन्च फ्राइच पठाउन भन्सार कार्यालय खटेको थियो ।
२ अर्ब रूपैयाँ लगानीमा खोलिएको फस्ट च्वाइस फुड्स लिमिटेडको प्रतिघण्टा अढाई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमता छ । नेपाल र भारतीय सहरमा आलुका परिकार बेचिरहेको उद्योगले अमेरिकामा ५ सय टन पठाउने सम्झौता गरेको छ । भविष्यमा आलुका थप परिकार बनाउने र युरोपेली देशमा पठाउने उद्योगको लक्ष्य छ ।