
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरेका कारण लाइन काटिएका २५ उद्योगमध्ये दुई वटा उद्योग किस्तामा बक्यौता तिर्न तयार भएको जनाएको छ।
प्राधिकरणले लाइन काटिएकामध्ये २ उद्योग किस्तामा बक्यौता तिर्न तयार रहेपछि पुनः जोडिएको जनाएको छ । लाइन काटिएको अवस्थामा रहेका २३ उद्योगले खपत गर्ने १ सय ५० मेगावाट बिजुली यसअघि कम क्षमतामा चलेका उद्योगहरूलाई दिइएको पनि प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरेका उद्योगीको लाइन काटिए पनि बिजुली खेर जाने भने स्थिति नरहेको प्राधिकरण तथा उर्जा उत्पादकहरूको भनाइ छ । उर्जा उत्पादकहरूको संस्था इपानले उद्योगमा लाइन काटेका कारणभन्दा पनि अहिले एक्कासी उत्पादन बढेकाले मात्रै सबै आयोजना एकै पटक पूर्ण क्षमतामा चलाउन नसकेको जनाएको छ ।
विद्युत प्राधिकरणका अनुसार अहिले मुलुकमा बिजुली जडित क्षमता ३९ सय मेगावाट रहेकामा २४ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । गत वर्ष यही समयमा २१ सय २० मेगावाट रहेको थियो । कात्तिकमा भएको वर्षाका कारण खोलामा पानीको बहाव बढेकाले यसवर्ष उत्पादन बढेको हो ।