
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ ।
नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा आउन चाहनेहरूका लागि अवसरसँगै पारिश्रमिक समेत राम्रो रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार निर्माण मध्येको पुलको मात्रै काम गर्ने श्रमिकको पारिश्रमिक महिनामै ५० हजारसम्म हुने गरेको छ ।
अहिले पुलका काम गर्ने अधिकांश भारतीयहरू छन् । उनीहरूले अर्बौं रूपैयाँ यसरी नै पारिश्रमिक बुझेर भारतमा लैजाने गरेका छन् । सिंहकाअनुसार निर्माण क्षेत्रमा मात्रै करिब ७ लाख भारतीय नेपालमा छन् । सरकारले निर्माणसम्बन्धी काम गर्न आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा रहेको उहाँले बताउनु भयो ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकसय दिने रोजगारीको घोषणा गरे पनि त्यो कागजमै सीमित भइरहेको सिंहको भनाइ छ । उहाँकाअनुसार अब आगामी सरकारले व्यवहारिक शिक्षा लागू गर्दै नेपालमै श्रम गर्ने वातावरण समेत तयार गर्न जरुरी छ ।