काठमाडौं । एक दशक अघिसम्म हिमाली जिल्लामा याक र चौंरी धेरै हुने परिवार हुनेखानेमा गनिन्थे ।
खर्कभरी चौंरी पाल्न हरसम्भव प्रयास गर्थे । आफूले पालेका चौंरी चीनको तिब्बत र भारतको सिक्किम पुर्याएर बिक्री गर्थे । चौंरीको मूल्य पनि प्रतिगोटा एक लाख रूपैंयासम्म पुगेको थियो । मूल्य पनि किन्नेले नै बढाउँथे र छानीछानी लैजान्थे । कोरोना संक्रमणपछि चीनमा याक-चौंरी निर्यात हुन सकेको छैन । भारतमा पनि राम्रो बिक्री नहुँदा किसान समस्यामा परेका छन् ।
कृषक महासंघ ताप्लेजुङका अध्यक्ष नुपु शेर्पासँग अहिले ९५ वटा याक र चौंरी छन् । बाच्छाबाच्छीको संख्या पनि लगभग त्यति नै छ । तर उहाँसँग ६० वटासम्म मात्र पाल्ने क्षमता छ । बढी भएको चौरी बिक्री गर्न खोजे पनि शेर्पाले सक्नुभएको छैन । कोरोना संक्रमणपछि नेपालबाट याक तथा चौंरी तिब्बत निर्यात हुन नसक्दा उहाँले बिक्री गर्न सक्नुभएको छैन् ।
नुपु शेर्पाको मात्र होइन, अहिले ताप्लेजुङको हिमाली क्षेत्रका किसानले पालेका चौंरी बिक्री भएका छैनन् । हिउँ पर्ने सिजन मंसिर-पुसमा औलतिर झार्ने र चैतलागेपछि असोजसम्म चीनसँगको सिमाना टिप्ताला भन्ज्याङ, मौवाटारसम्म पुर्याउने नेपाली किसानले यीनै खर्कमा घुमाइरहेका छन् । गोठ राख्न वार्षिक २५ देखि ६० हजारसम्म तिरेर खर्क किन्नुपर्छ । चौरीलाई खुवाउने नुन र भुस सदरमुकामदेखि बोकेर पुर्याउनुपर्छ ।
किसानले भारी बोकाउने प्रयोजनका लागि चौंरी पाल्ने गर्छन् । याक भने हुर्काएर बिक्री गर्ने गर्छन्। तर अहिले भारी बोकाउन पनि चौंरीको कम मात्र प्रयोग हुने गरेको छ । याक बिक्री नै हुन छाडेको छ । यसले हिमाली क्षेत्रका किसानलाई आफूले पालेका याक तथा चौंरी बिक्री गरेर आम्दानी गर्न समस्या भएको छ ।
तिब्बतमा याक तथा चौंरी निर्यातका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने माग किसानको छ । ताप्लेजुङमा मात्र आठ हजारभन्दा बढी याक र चौंरी रहेको तथ्यांक कृषक महासंघको छ ।