.png&w=1000&height=550)
काठमाडौ । चालू आर्थिक वर्षको मंसिरसम्म आयात १ खर्ब ५ अर्बले बढेको छ ।
गत वर्षको मंसिरसम्म ६ खर्ब ६१ अर्बको आयात भएकोमा यस वर्षको सोही अवधिमा आयात १५ प्रतिशतले वृद्धि भई ७ खर्ब ६६ अर्ब पुगेको हो । त्यस्तै निर्यात पनि ४३ अर्बले बढेको छ । गत वर्षको मंसिरसम्म ७३ अर्बको आयात भएकोमा यो वर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब अर्थात् ५८ प्रतिशतले निर्यात बढेको छ । तर यस्तो निर्यातमा ४० प्रतिशत हिस्सा भने विदेशबाट कच्चा तेल आयात गरि निर्यात गरिने भटमासको तेलले ओगटेको छ ।
मंसिरसम्म कच्चा भटमासको तेल ४६ अर्ब ९७ करोडको आयात भएकोमा प्रशोधित भटमासको तेल ४६ अर्ब ५५ करोडको निर्यात भएको छ । उच्च आयात हुने बस्तुमा भटमासको तेलसँगै डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र फलामजन्य सामग्री रहेका छन् ।
निर्यात हुने मूख्य बस्तुमा प्रशोधित भटमासको तेलसँगै अलैंची र गलैंचा रहेका छन् । आयात अनुसारको निर्यात बढाउन नसक्दा गत मंसिरसम्म मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा १० प्रतिशतले बढेको छ । गत वर्षको मंसिरसम्म ५ खर्ब ८७ अर्बको ब्यापार घाटा रहेकामा यो वर्षको मंसिरसम्म ६ खर्ब ४९ अर्ब पुगेको छ । एक वर्षमा व्यापार घाटा ६२ अर्बले बढेको छ ।