बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, २० करोड कारोबार गर्ने लक्ष्य

कृषि, प्रविधि तथा पर्यटनमा जोड
पुस ७, २०८२ |अमृता अनमोल
बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, २० करोड कारोबार गर्ने लक्ष्य

बुटवल । ठाउँ-ठाउँमा मेला र महोत्सव किन गरिन्छ ? धेरैलाई लाग्छ, किनमेल र मनोरञ्जनका लागि । तर, बुटवलमा सञ्चालित राष्ट्रिय औद्योगिक प्रदर्शनी अन्यत्रको भन्दा फरक छ ।

समृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विकास भन्ने नारासहित बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव चलिरहेको छ । रूपन्देही उद्योग संघले बुटवल मण्डपमा आयोजना गरेको प्रदर्शनीमा औद्योगिक उत्पादन, परम्परागत प्रविधि, वैकल्पिक उर्जा, घरेलु उत्पादन, सुचना प्रविधि, औद्योगिक, गार्मेन्ट, कृषि, पर्यटन प्रवर्द्धन, खाद्यान्न, अटो व्यवसाय, हस्तकलालगायतका ३ सय ५० स्टल छन् । 

बुटवल मण्डपभित्र १० वटा पेभिलियन बनाएर उपभोक्ताको पहुँच पुग्नेगरी फरक-फरक खालका उत्पादनलाई बिक्री तथा प्रदर्शनका लागि राखिएका छन् । प्रदर्शनीमा आठ लाख दर्शकलाई अवलोकन गराइ २० करोड रूपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ ।

प्रदर्शनीमा उपभोक्तालाई आकर्षण गर्न सजावटदेखि व्यवस्थापनमा ध्यान दिइएको छ । किनमेल मात्र होइन औद्योगिक उत्पादन, विविध उत्पादन, स्थल, बजार, रोजगारीबारे जानकारी लिन आउनेहरू धेरै छन् । प्रदर्शनीमा व्यवसायीलाई आफ्ना उत्पादन उपभोक्तालाई देखाउँदै र उपभोक्तासँग प्रत्यक्ष भलाकुसारी गर्दै आफ्ना सामाग्रीको बिक्री तथा प्रवर्दन गर्ने अवसर दिइएको छ । 

प्रद्धर्शनीमा राखिएका थरीथरीका परम्परागत सामाग्रीसँगै विभिन्न जातिका खानाका परिकार प्रदर्शन र बिक्री भइरहेको छ । स्वदेशी उत्पादनको प्रदर्शनीसँगै परम्परागत प्रविधिको संरक्षण नयाँ प्रविधिको खोजी गर्ने लक्ष्य छ । त्यसका लागि कृषिको व्यवसायिकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, कला तथा संस्कृतिको जगेर्ना गर्ने कार्यक्रम छन् । 

प्रदर्शनीमा गुल्मीको थोर्गाबाट ल्याइएको उखु हलगोरूद्वारा परम्परागत तरिकाले पेलेर ताजा खुदो प्रदर्शनीमै बिक्री वितरण भइरहेको छ। बाल उद्यान, थरीथरीका पिड., साहसिक खेल, लोपोन्मुख वस्तुको प्रदर्शनले प्रदर्शनी रोमाञ्चक बनेको छ । दैनिक रूपमा हुने सांगितिक महोत्सव प्रदर्शनीको अर्को आकर्षण हो । 

नाम चलेका राष्ट्रिय कलाकारको थरीथरीको प्रस्तुतिले बुटवल गुञ्जिएको छ भने दर्शकहरू मेलामा ओइरिएका छन् । पुस ३ गतेदेखि सुरू भएको बुटवल राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस १७ गतेसम्म चल्नेछ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।