धनकुटा । डिभिजनल वन कार्यालय धनकुटाले लाहा खेतीको क्षेत्र विस्तार गरेको छ ।
साँगुरीगढी गाउँपालिकाको याम्लीखाम क्षेत्रमा मात्रै हुँदै आएको लाहा खेतीले व्यावसायिक रूप लिँदै गएको हो । कोशी प्रदेश सरकार र स्थानीयतहरूसँगको सहकार्यमा धनकुटाको साँगुरीगढी र चौविसे गाउँपालिका तथा पाख्रिबास नगरपालिकामा लाहा उत्पादन सुरू गरिएको हो ।
सुख्खा खडेरीका कारण तरकारी, फलफूल र अन्न उत्पादनका लागि प्रतिकूल देखिएका यी ठाउँका किसान लाहा खेती गरी अतिरिक्त आम्दानी गर्न सफल भएका छन् । लाहा खेती विस्तारका लागि डिभिजन वन कार्यालय धनकुटाले बीउ र प्राविधिक सहयोग उपलब्ध गराएको छ । लाहा उत्पादन, बिक्रीका लागि स्थानीयले लाहा उत्पादन सञ्जाल बनाएका छन् ।
सञ्जालमा आवद्ध निम्न आय भएका किसानलाई लाहाको बीउ र प्राविधिक सेवा उपलब्ध हुँदै आएको छ। लाहा एक प्रकारको सुक्ष्म परजीवी कीरा हो । यसैले उत्पादन गर्ने खोटोजस्तो पदार्थलाई लाहा भनिन्छ । यसको प्रयोग सुन पसल, घरेलु हतियार उत्पादन गर्ने आरन, चुरा तथा फर्निचर उद्योगमा प्रयोग हुँदै आएको छ ।
धनकुटासँगै भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्लामा वार्षिक १० हजार किलो लाहा उत्पादन हुने गरेको छ । एक किलो लाहा ४ सय ५० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ ।