लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सिमा मानी योजना, कार्यक्रम कार्यन्वयनमा लैजान र मितव्ययिता अपनाउन प्रदेश सरकार मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
देशको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त मार्गदर्शन र नेपाल सरकारका निर्देशनका अतिरिक्त खर्च व्यवस्थापनमा थप व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने बजेटका क्रममा दोहोरो प्रविष्टि भएका आयोजना, कार्यक्रम तथा क्रियाकलापमध्ये एउटा मात्र कार्यान्वयन गरी बाँकी रोक्का गर्न र विभिन्न शीर्षकमा २० प्रतिशत रकम कटौती गर्न निर्देशन दिएको छ ।