लगातारकाे वर्षाले १६ वटा जलविद्युत् परियोजना बन्द : इप्पान

आश्विन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
लगातारकाे वर्षाले १६ वटा जलविद्युत् परियोजना बन्द : इप्पान

काठमाडौं । शनिबारदेखि सोमबारसम्म परेको भारी वर्षाले सडक पूर्वाधारमा जस्तै उर्जा क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । 

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार १६ वटा जलविद्युत् परियोजना बन्द भएका छन् । इप्पानका अध्यक्ष गणेश कार्कीले एक दर्जन परियोजनामा ठूलो क्षति पुगेको र केहीको मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको बताउनुभयो । 

त्यस्तै बाढी र पहिरोले निर्माणाधीन २० परियोजनामा क्षति पुगेको छ । आर्थिकरूपमा भएको क्षतिको विवरण अझै प्राप्त भइनसकेको इप्पानका अध्यक्ष कार्कीले जानकारी दिनुभयो। यता सडक पूर्वाधारतर्फ भने बीपी र मेची राजमार्ग सबैभन्दा धेरै क्षति भएको छ । 

अन्य राजमार्गमा पहिरो र बाढीले सामान्य क्षति पुर्‍याए पनि सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न थालिएको छ । तर बीपी र मेची राजमार्ग पुनः सञ्चालनमा आउन हप्ता दिन लाग्ने देखिएको छ । सडकमा भएको आर्थिक क्षतिको सबै विवरण अझै आएको छैन ।

सडक, उर्जा, सिंचाई, कृषिलगायतका क्षेत्रमा भएको क्षतिको आंकलनसहित पुनर्स्थापना र पुनर्निर्माणलगायतका विषयमा निर्णय लिन प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिषद् बैठक भोलि अर्थात् मंगलबार बस्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.