तातोपानी नाका पुनः बन्द

आश्विन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
तातोपानी नाका पुनः बन्द

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका पुनः बन्द भएको छ । 

कोदारी राजमार्गको २६ किलोमिटर डाक्लाङमा गएको पहिरोका कारण शनिबारदेखि तातोपानी नाका पुनः बन्द भएको हो ।

लगातारको वर्षापछि आएको पहिरोले सडक अवरूद्ध भएपछि उत्तरी नाका हुँदै नेपालका लागि ल्याइएका उपभोग्य सामग्रीहरू चिनियाँ क्षेत्रमा नै रोकिएका छन्। दशैं, तिहार र जाडो मौसमका लागि आवश्यक सामग्री-जस्तै रेडिमेड कपडा, जुत्ता-चप्पल, इलेक्ट्रोनिक्स सामान, जाकेट, कम्बल र ब्ल्याङ्केट-बोकेका करिब एक हजार भन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा अडि्कएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । 

तातोपानी नाकाको भौगोलिक जटिलता र चीनको भन्सार प्रक्रियामा भएको ढिलाइका कारण व्यापारीहरू थप मारमा परेका छन्। चीनको भन्सार कार्यालयले नेपालपटीको भौगोलिक कठिनाइ अवस्थाको कारण देखाउँदै सामान ढुवानीमा ढिलाइ गरेको उहाँले बताउनुभयो ।

पहिरो ठुलै गएको कारण सडक खुलाउन समय लाग्न सक्ने उद्योग वाणिज्य संघले जनाएको छ । गत बैशाखदेखि नै राजमार्गको जीर्ण र कमजोर अवस्थाको कारण सडक नियमित सुचारू हुन सकेको छैन् । सडककै कारण पटक-पटक नाकाका व्यवसायीले समस्या भोग्नु परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.