काठमाडौं । लगातारको भारी वर्षा र प्रतिकूल मौसमका कारण शनिबार रोकिएका आन्तरिक उडान आइतबारदेखि सञ्चालनमा आएका छन् ।
मौसममा सुधार भएर आकाश खुलेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियमित आन्तरिक उडान सञ्चालनमा आएका हुन् । विमानस्थलमा यात्रुको चापसमेत बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आजका लागि १ सय ४० वटा आन्तरिक उडान तय गरेको छ ।
मौसममा सुधार आई आकाश खुल्न थालेपछि बिहान ७ बजेदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान थालिएको हो । विमानस्थल सञ्चालनमा आएपछि यात्रुहरूको चाप निकै बढेको छ । यसअघि शनिबार अधिकांश उडान रद्द भएका थिए ।
शनिबार आन्तरिकतर्फका अधिकांश उडान रद्ध भएपछि झन्डै १४ हजार यात्रु प्रभावित भएका थिए । त्यसमध्ये काठमाडौं विमानस्थलबाट जाने ९ हजार र आउने ५ हजार यात्रु थिए । विमान सेवा सुरू भएपछि यात्रुलाई सहज भएको छ ।
यात्रुको चाप बढ्न थालेपछि वायुसेवा कम्पनीहरूले आन्तरिकतर्फ थप उडान भर्ने तयारी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडानहरू भने खासै प्रभावित नभएको जनाएको छ । शनिबार साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिमा ७ वटा अन्तर्राष्ट्रिय उडानहरू खराब मौसमका कारण बंगलादेश र भारततर्फ मोडिएका थिए।
तीमध्ये नेपाल एयरलाइन्सको बाइडबडी बिमानबाहेक सबै उडानहरू राति नै काठमाडौं फर्किसकेका छन् ।