बुटवल । कृषिको व्यावसायिकरणका लागि के गर्ने ? यसका धेरै उपाय हुनसक्छन् । बुटवलमा भने कृषि उपज तथा थोक बजार केन्द्र स्थापना भएको छ । जसमा दैनिक २ करोड बढीको फलफूल तथा तरकारीको कारोबार हुन्छ ।
बुटवलको कृषि उपज तथा थोक बजार केन्द्रमा हरेक दिन बिहान तरकारी तथा फलफूल किन्ने र बेच्नेको भीड हुन्छ । केन्द्रले चीन र भारतसहित नेपालका ५६ जिल्लाका तरकारी तथा फलफूल आयात गरी २६ जिल्लामा निर्यात गर्छ ।
यहाँबाट दैनिक झन्डै २ करोडको फलफूल तथा तरकारीको कारोबार हुन्छ । वार्षिक कारोबार झन्डै साढे ७ अर्ब रूपैयाँको हुने गरेको छ । यो बजारमा आर्थिक वर्ष २०८०/८१ मा ९ लाख ३७ हजार सात सय ३० क्विन्टल बराबरको तरकारीको कारोबार भएको थियो ।
बुटवल उपमहानगरपालिका-६ मा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र कारोबारका हिसाबले काठमाडौंको कालिमाटी पछिको दोस्रो ठूलो थोक बजारका रूपमा रहेको छ । पश्चिम क्षेत्रको फलफुल तथा तरकारी संकलन गरी व्यवस्थित तरिकाबाट आन्तरिक र बाह्य बजारमा पुर्याउने उद्देश्यले बुटवलमा वि.सं. ०६७ भदौदेखि कृषि उपज थोक बजार केन्द्र सञ्चालन भएको हो ।
केन्द्रमा बुटवल उपमहानगरपालिका, संघीय कृषि निर्देशनालय र लुम्बिनी फलफुल तथा तरकारी थोक व्यापारी संघको त्रिपक्षीय लगानी छ । सुरूका वर्षमा १० प्रतिशतमात्रै स्वदेशी कृषि उपजको बिक्री हुने केन्द्रमा हाल ३६ प्रतिशत स्वदेशी उत्पादनले ओगटेको छ ।
कृषि उपज केन्द्रमा दैनिक थोक बजार मूल्य कायम गरी एकरूपता कायम गरिएको छ भने किसानले सिधैं आएर थोक बेच्न पनि पाउने व्यवस्था छ । स्थापनाका बेला ६० प्रतिशत भारतीय हरियो तरकारी बिक्री हुने केन्द्रमा अहिले ७६ प्रतिशत स्वदेशी बिक्री हुन्छ ।
आलु-प्याज ९८ प्रतिशत भारतीय बजारबाट आएपनि स्वदेशी लसुनले ३० प्रतिशत ओगटेको छ । स्थापनाका बेला ९५ प्रतिशत विदेशी फलफूलमा निर्भर रहेको बजारमा हाल स्वदेशी केराले ७०, सुन्तला र आपले २० प्रतिशत ओगटेको छ ।