आन्तरिक उडानमा अचाक्ली भाडा, धनगढी-काठमाडौंं भन्दा काठमाडौं-दिल्लीकाे टिकट सस्ताे !

आश्विन १७, २०८२ |सुदिल पोखरेल
आन्तरिक उडानमा अचाक्ली भाडा, धनगढी-काठमाडौंं भन्दा काठमाडौं-दिल्लीकाे टिकट सस्ताे !

काठमाडौं । नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र सरकारले पटक-पटक दिएको निर्देशनको बेवास्ता गर्दै हवाइ सेवा कम्पनीहरूले आन्तरिक उडानको टिकट महंगो दरमा बेच्न छाडेका छैनन् । 

यात्रुको चाप बढेको मौका छोपी अधिकतम दरको टिकटमात्र खुला गर्ने गरिएको हो । अहिले धनगढीबाट काठमाडौं आउनभन्दा काठमाडौंबाट भारतको नयाँदिल्ली जान सस्तो भाडा छ । विजयादशमीको दिनसम्म काठमाडौंबाट बाहिरिने उडानका लागि महंगो दरको टिकट बेचिरहेका बिमान कम्पनीहरूले शुक्रबारदेखि भने काठमाडौं भित्रने उडानमा महंगो दरको टिकट बेचिरहेका छन् । 

शनिबारका लागि नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीसम्म जाने भाडा १२ हजार ७ सय ९७ रूपैयाँ छ । शनिबार ४ बजे नै धनगढीबाट काठमाडौं आउनका लागि बुद्ध एयरले १६ हजार २७ रूपैयाँ भाडा तोकेको छ । यसले धनगढीबाट काठमाडौं आउनभन्दा काठमाडौंबाट भारतको नयाँदिल्ली जान ३ हजार २ सय ३० रूपैयाँ सस्तो पर्ने देखिन्छ । 

विमान कम्पनीले भाडा अचाक्ली महंगो बनाएपछि यात्रुहरू मर्कामा परेका छन् । नियमनकारी निकायहरूले भने सरकारले नै निर्धारण गरेको माथिल्लो सीमाको भाडा लिएकाले कारबाही गर्न नमिल्ने जनाएका छन् । यात्रुको चाप कम भएका बेला सस्तो भाडामै उडाउने विमान कम्पनीहरुले टिकटको माग बढेपछि भने महंगो दरको टिकटमात्र खुला गर्ने गर्छन् । 

उपभोक्ता अधिकारकर्मीहरू भने सरकारकै आडमा विमान कम्पनीहरूको मनपरी बढेको बताउँछन् ।चाडपर्वका बेलामा विमान कम्पनीहरूले सस्तो दरको टिकट नै खोल्दैनन् । अचाक्ली भाडाका कारण चाडपर्व मनाउन उपत्यकाबाट बाहिरिँदा र फर्कंदा दुबै समय यात्रुहरू मारमा पर्ने गरेका छन् ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।