उखुको अनुदान बापतको रकम दशैँ अगाडिनै पाउनुपर्ने किसानको माग

अहिलेसम्म रकम वितरण नगरेको गुनासो
आश्विन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
उखुको अनुदान बापतको रकम दशैँ अगाडिनै पाउनुपर्ने किसानको माग

नवलपरासी । नवलपरासीका किसानले सरकारले उखुको अनुदानबापत दिने रकम दशैँ अगाडि नै पाउनुपर्ने माग गरेका छन् । 

किसान आन्दोलनको क्रममा दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाएको सरकारले अहिलेसम्म रकम वितरण नगरेको भन्दै भुक्तानीको माग गरेका हुन् । उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले मङ्गलबार विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार दशैँ अगाडि नै अनुदान रकम प्राप्त नभएमा दशैँलगत्तै सडक सङ्घर्षमा उत्रने चेतावनी दिनुभएको छ । 

यसअघि भदौ ८ देखि १३ गतेसम्म काठमाडौं केन्द्रित आन्दोलन र त्यसपछि सडक सङ्घर्षमा उत्रिएका किसानलाई सरकारले तत्कालै अनुदान रकम दिने आश्वासन दिएको थियो । 

उद्योगीले पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रति क्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकिएको थियो । उखु काटेर उद्योगलाई बिक्री गरी अनुदानको पर्खाइमा रहेका बेला सरकारले भने अनुदान रकम कटौती गरेको छ । 

मुलुकभरमा किसानले आर्थिक वर्ष २०८१-८२ को १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । चालु आर्थिक वर्षमा सरकारले अनुदान रकम नै उल्लेख नगरेपछि किसान आन्दोलित भएका हुन् । 

तत्काल अनुदान रकम सुनिश्चित नगरेमा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिँदै आएपनि सरकारले सुनवाइ गरेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.