काठमाडौं । उद्योगी व्यवसायीहरुले जेन-जी आन्दोलनपछि भएको तोडफोड र आगजनीले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् ।
उनीहरुले लगानीकर्ताका लागि सहुलियत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी र सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताउनुभएको हो ।
उहाँले कुल तोडफोड र आगजनीका कारण कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत नोक्सान भएको जानकारी दिनुभयो । उहाँले अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेन-जी आन्दोलनपछि भएको विध्वंशले देशलाई नै आर्थिकरूपमा ठूलो क्षति पुर्याएको र लगानीकर्तालाई निरुत्साहित बनाएको बताउनु भयो । सरकारले लगानीकर्ता र व्यवसायको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने उहाँको भनाइ थियो ।
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको बिक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताउनुभयो । दशैँ, तिहारलगायत चाडपर्वमा गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरबदल गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेन-जी आन्दोलनपछिको तोडफोड र आगजनीले सबै डराउनुपर्ने अवस्था आएकाले सुरक्षा प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभयो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जेन-जी आन्दोलनपछि पर्यटन क्षेत्र शिथिल बनेकाले सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको अवस्थामा पर्यटकलाई तीन महिनाको भिसा फ्री गर्नुपर्नेमा जोड दिनुभयो ।