धनकुटा । तरकारी, फलफूल तथा नगदेबाली उत्पादनका लागि धनकुटा कोशी प्रदेशमै अग्रणी छ ।
कृषिउपज उत्पादनका लागि सरकारी प्राविधिक सहयोग र जिल्ला बाहिर बिक्रीमा समस्या झेलेरै भए पनि गएको आर्थिक वर्षमा धनकुटाका किसानले करिब तीन अर्ब रुपैयाँ भित्र्याएका छन् ।
उत्पादनमा भरपर्दो सरकारी प्रोत्साहन र बजार अनिश्चितता हटेमा किसानको आम्दानी चार गुणासम्म बढाउन सकिने कृषि विज्ञ बताउँछन् । धनकुटाको छथरजोरपाटी गाउँपालिका मजुवाका मेघबहादुर खड्काले ग्रीन हाउस र ठूला प्लाष्टिक टनेलभित्र भेडेखुर्सानी रोप्नुभएको छ ।
प्रतिबोट तीन सय रूपैयाँको खुर्सानी फलाएर बिक्री गर्ने उहाँको योजना छ । सोचेअनुसार उत्पादन र बिक्रीमा झमेला नभए आगामी पुससम्म करिब ५० लाख रूपैयाँको कारोबार गर्ने उहाँको लक्ष्य छ ।
धनकुटाका पाँच हजार किसान परिवार व्यवसायिक कृषितर्फ उन्मुख छन् । उनीहरू आलु, बन्दा, गोलभेंडा, काउली, गाँजर र खुर्सानी तथा अलैंची, अदुवा, चियाजस्ता नगदेबालीका साथै सुन्तला, कागती, एभोकाडोजस्ता फलफूलमा व्यवसायिकता खोजिरहेका छन् ।
त्यसैले पछिल्ला वर्षमा धनकुटाबाट तरकारी, फलफूल र नगदेबाली उत्पादन बढ्दो छ । तर उत्पादन र बिक्रीमा पहिलेदेखिका समस्या ज्यूँकात्यूँ छन् । धनकुटामा गत आर्थिक वर्ष २०८१/०८२ मा १ लाख ६४ हजार २ सय १८ मेट्रिकटन तरकारी, ४ हजार ७ सय ७५ मेट्रिकटन फलफूल र ७ हजार १ सय ८० मेट्रिकटन नगदेबाली उत्पादन भएको छ ।
सरकारले राखेको औसत मूल्यलाई आधार मान्दा तरकारी, फलफूल र नगदबवाली बिक्रीबाट धनकुटामा तीन अर्ब रूपैयाँभन्दा बढि रकम भित्रिन्छ । उत्पादित कृषिउपज स्थानीय बजारमा मात्रै खपत हुने अवस्था छैन ।
उत्पादन वृद्धि र बिक्रीमा सहजीकरण गर्नसके किसानको आम्दानी चौगुणा बढाउन सकिने कृषि विज्ञको भनाइ छ । छिमेकी मुलुक भारत र बंगलादेशसम्म तरकारी र फलफूल निर्यातका लागि संघीय सरकारको पहल निष्प्रभावी छ ।
उत्पादित कृषिउपजले बजार नपाएर बारीमै नष्ट हुने अवस्था आउँदा ठूलो भूगोल र बढी जनसंख्या भएका पूर्वी तराईका बजारमा समेत भारतबाट आयात हुने तरकारी र फलफूल उपभोग गर्नुपर्ने अवस्था छ ।
अन्तरस्थानीय तह समन्वयको अभावमा पहाडी क्षेत्रको उत्पादनलाई तराईका बजारसम्म पुर्याउने संयन्त्रको विकास हुन सकेको छैन ।