सुदन गुरुङ समूह पार्टी गठनको तयारीमा

आश्विन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदन गुरुङ समूह पार्टी गठनको तयारीमा

काठमाडौं । जेन-जी आन्दोलन सफल भएर नयाँ सरकार गठन भएसँगै सुदन गुरुङ समूहले ६ महिनापछि हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी गठनको तयारी थालेको छ ।

जेन-जी आन्दोलनमा सहभागीहरुलाई एक ठाउँमा ल्याएर एकीकृत शक्ति निर्माण गर्ने उद्देश्यले गुरुङ समूहले पार्टी गठन गर्न लागेको हो । गुरुङलाई केन्द्रीय संयोजक र सात वटै प्रदेशमा प्रदेश संयोजकसमेत तोकिएको छ । 

कोशी प्रदेशमा उपार्जुन राई, मधेशमा शिव यादव, बागमतीमा किरण आचार्य र गण्डकीमा प्रदीप पाण्डेलाई संयोजक तोकिएको छ । त्यसैगरी लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ । 

प्रदेश संयोजकहरुलाई जिल्ला संयोजकहरु तोकेर प्रदेशसहित नगर र स्थानीय कमिटीहरुको सम्मेलन गर्ने जिम्मा दिइएको छ । सम्मेलन लगत्तै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी छ ।

गुरुङ समूहले भदौ २३ र २४ गतेको आन्दोलनलाई राजनीतिक क्रान्तिका रुपमा राज्यले स्वीकार गर्नुपर्ने बताएको छ । अबको चुनावमार्फत दुईतिहाइ मत ल्याएर संविधान संशोधन गर्ने, २०४६ सालपछिका भ्रष्टाचारका घटनाको छानबिन गर्ने, स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई चुनावी एजेण्डा बनाउने तयारी यो समूहको छ ।

गुरुङ समूहले अब हुने मन्त्रिपरिषद् विस्तारमा जेन–जीका प्रतिनिधि सहभागी हुने दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.