काठमाडौं । बीमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएको छ ।
मंगलबार राजधानीमा भएको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले जेन-जी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भए पनि साना प्रकृतिको छिटो भुक्तानी गरिने बताउनु भयो । वैद्यवारकाअनुसार अहिलेसम्म आन्दोलनका कारण २ हजार ४७८ वटा बीमा दाबी आवेदन परेको छ ।
यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो । गत सालको असोजमा काठमाडौंलगायत काभ्रेको रोसीको बाढीका कारण करिब १३ अर्बको दाबी परेको उहाँको भनाइ छ ।
१ हजार ७ सय दाबी साना प्रकृतिका रहेको उहाँले बताउनु भयो । यी ४०-५० लाखदेखि २ करोडसम्मका रहेको आकलन उहाँको छ । अरू ठूलो प्रकृतिका रहेको उहाँको भनाइ छ ।