धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

आश्विन ४, २०८२ |अर्जुन सुवेदी
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

सुनसरी । निर्धारित समयमा बजेट ल्याउन नसकेको धरान नगरपालिकाले झन्डै तीन महिनापछि आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । 

शनिबार बसेको १७औं नगरसभामा उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपमहानगरले चालु आर्थिक वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

उपमहानगरले शहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा करिब ७ करोड, सामाजिक विकासमा ४ करोड ८६ लाख, आर्थिक विकासमा १ करोड २९ लाख, वन-वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख विनियोजन गरेको छ ।

लामो समय विवादित बनेको नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख विनियोजन गरिएको छ । धरानका २० वटा वडाका लागि छुट्टै २१ करोड विनियोजन गरिएको उपमहानगरले जनाएको छ । 


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।