नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस् : अध्यक्ष ढकाल

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन)हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ वार्षिक साधारण सभा (एजीएम)लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको हो । 

विश्वभर भइरहेका द्वन्द्व र कोभिड–१९ जस्ता महामारीको उदाहरण दिँदै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने बताउनु भयो । विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा सही ठाउँमा लगानी नहुँदा समस्या आएको गुनासो सुनिए पनि ती केवल ‘अपवाद’ मात्र भएको उहाँले स्पष्ट पार्नुभयो । 

नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ सँग महासंघले सहकार्य गरेर एउटा प्रोजेक्ट अगाडि बढाइसकेको जानकारी दिँदै उहाँले संस्थागत लगानीमा जोड दिनुभयो । मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको ढकालको भनाइ छ । 

महासंघकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी लगानी (एफडीआई) भित्र्याउन थुप्रै कानुनहरू परिमार्जन भइरहेको उहाँले जानकारी दिनुभयो । बाँकी रहेका नीतिगत झन्झटहरू हटाउन निजी क्षेत्र एनआरएनएसँग मिलेर सरकारसँग लबिङ गर्न तयार रहेको पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।

नेपालमा पुँजी छैन र सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्न महासंघ, सीएनआई, चेम्बर र एनआरएन लगायतको सहभागितामा १० अर्ब रूपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ कम्पनी स्थापना गरी काम सुरू भइसकेको उहाँले बताउनु भयो । 

विदेशमा रहेका नेपालीहरूलाई आफ्नो कमाइको केही अंश नेपालको जलविद्युत्, पर्यटन, आईटी, खानी तथा खनिज र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । साथै, एनआरएनहरूसँग कुनै नयाँ ‘इनोभेसन’ वा प्रोजेक्ट भएमा त्यसमा एनडीपी कम्पनीले ‘इक्विटी’को रूपमा लगानी गरिदिने घोषणासमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.