१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छ : उपेन्द्र महतो

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छ : उपेन्द्र महतो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ संकल्पको अभाव रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२औँ एकता महाधिवेशनमा उहाँले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो । उहाँले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उल्लेख गर्नुभयो । 

उहाँले आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने बताउनु भयो । नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिब १०० बिलियन डलर पुग्न लागिसकेको उहाँको भनाइ छ । 

हाल ८० लाख नेपालीहरू बाहिर रहेको र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उहाँले बताउनु भयो । नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीहरूसँग पनि जोडिएको उहाँको भनाइ छ । उहाँले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्वपूर्ण हुने पनि बताउनु भयो । 

सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भूमिका खेल्न उहाँले गैरआवसीय नेपालीहरूलाई आह्वान गर्नुभयो । उहाँले विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । 

गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा नेपाल भित्रिन नसक्ने उहाँको भनाइ छ । उहाँले नेपालीको निजी क्षेत्रले गैरआवासीय नेपालीहरूलाई बेवास्ता गरेको पनि गुनासो गर्नुभयो । नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म नेपालले आर्थिक प्रगति गर्न नसक्ने उहाँको भनाइ छ ।

उहाँले गैरआवसीय नेपालीहरूलाई विदेशमा बसेर सरकार र नेपालीलाई देश बनाउने सुझाव मात्रै नदिन आग्रह गर्नुभयो । देश बनाउने दायित्व सबैको भएको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा आएर योगदान गर्न आह्वान गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.