कोरला भन्सारबाट पहिलो लटमा ६७ चिनियाँ कन्टेनर भित्रिए

आश्विन १, २०८२ |घनश्याम खड्का
कोरला भन्सारबाट पहिलो लटमा ६७ चिनियाँ कन्टेनर भित्रिए

म्याग्दी । लोमन्थाङ गाउँपालिका-१ नेचुङमा पर्ने नेपाल-चीनबीचको २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाकाबाट औपचारिक रूपमा भन्सार सञ्चालनमा आएको छ ।

लोमन्थाङ गाउँपालिका-२ छोसेरस्थित नेचुङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान भएसँगै १ सय ५१ वटा चिनियाँ विधुतिय (ईभी) गाडीहरू समेत विभिन्न तयारी पोसाक, इलेक्ट्र्रोनिक तथा कस्मेटिक सामान बोकेका ६७ वटा चिनियाँ कन्टेनरहरू आइपुगेको कोरला भन्सार कार्यालयले जनाएको छ ।

पहिलो लट मंगलबारसम्म २१ कन्टेनरले भन्सार जाँच-पास गरी कोरलाबाट तल झरेका छन । सोही समयमा नेपालबाट भने दुई ट्र्रक नेपाली हस्तकला र पुजा सामाग्रीहरू चीन तर्फ निर्यात भएका छन । नेपालबाट चीनतर्फ गएका सामाग्रीहरू सबै शुन्य भन्सार (कर मुक्त) सामाग्री हुन ।

‘कोरला भन्सार कार्यालयमा पनि कागजमा बिल काट्ने एनालग सिस्टम विस्थापित गरी अर्न्तराष्ट्र्रीय भन्सार प्रणाली सेटअप गरी चीनियाँ सामानहरू आयात थालेका छौं’ कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले भन्नुभयाे, ‘२ दिन भयो उता (चीन)बाट गाडी छोडेको छैन, भोलीदेखि थप सामान आउँछ होला ।’

कोरला नाका तिब्बतको ढोङ्वासेनहुँदै सिगात्सेबाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिएको छ । रसुवागढीस्थित तातोपानी नाकामा केही समय अघि आएको बाढीपहिरोले भन्सार कार्यालयसमेत पूर्वाधारहरूमा क्षति पुर्‍याएपछि वैकल्पिक बाटोको रूपमा कोरला नाका प्रयोगमा ल्याइएको हो ।

चीनबाट आएका ईभी गाडीहरू कोरला स्थति सुख्खा र खुल्ला बन्दरगाहमा राखिएका छन । नेपाल-चीनबीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार कोरला नाका सुख्खा बन्दरगाह सञ्चालनमा आएको हो ।

चिनियाँ अध्यागमन कार्यालयको आमने-सामने निर्मित प्रिफ्याब प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरी अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडानगरी कोरला नाकाबाट व्यवसायीक कारोवार सुरू भएको हो । 

सीमापार चीनले भने सूचाना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, आवस, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा पूर्वाधार खडा गरी सकेको छ ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।