अमेरिकाले भारत र बंगलादेशका उत्पादनमा भारी आयात कर लगाएपछि नेपाललाई अवसर

साझेदारीका लागि छिमेकी देशका व्यवसायीको प्रस्ताव/ लगानी र प्रविधि भित्र्याउन नेपाली उद्योगीको चासो
भाद्र २१, २०८२ |सुमन पन्थ
अमेरिकाले भारत र बंगलादेशका उत्पादनमा भारी आयात कर लगाएपछि नेपाललाई अवसर

काठमाडौं । भारत र बंगलादेशका प्रतिष्ठित उद्योगीहरूले नेपालका निर्यात व्यवसायीसँग व्यापारीक साझेदारीको प्रस्ताव गर्न थालेका छन् । 

नेपालमा उत्पादित वस्तुलाई अमेरिकी सरकारले कम भन्सार कायम गरेका कारण भारत र बंगलादेशका उद्योगीले अनौपचारिक तवरले साझेदारीको प्रस्ताव गरेका हुन् । 

नेपालबाट वस्तु निर्यात गर्न सके भन्सार कम हुने भएकाले उनीहरूले नेपाललाई ट्रान्जिट बनाउन खोजेका हुन् । यता विज्ञहरूले भने बाह्य बजारमा उत्पादन भएका वस्तुमा नेपाली ट्याग लाग्नबाट जोगाउनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकाका राष्ट्रपति डनल्ड ट्रम्प प्रशासनले भारत र बंगलादेशबाट उत्पादित वस्तुमा भारी मात्रामा आयात कर लगाउने घोषणा गरेपछि दुवै देशका व्यवसायीले नेपाली उद्योगीसँग साझेदारी गर्न खोजेका छन् । 

अमेरिकाले भारतका उत्पादनमा ५० र बंगलादेशका उत्पादनमा २० प्रतिशत कर लगाउने घोषणा गरेपछि त्यहाँका उद्योगीले नेपाली उद्योगीसँग मिलेर काम गर्न खोजेका हुन् । 

नेपालबाट उत्पादित वस्तु अमेरिका निर्यात गर्त १० प्रतिशत मात्र भन्सार कर लाग्छ । त्यही भएर भारत र बंगलादेशका व्यवसायीले नेपाललाई ट्रान्जिट बनाउन खोजेका हुन् ।

नेपाल सरकारले विशेष सजकता अपनाउनु पर्छ विगतमा चीनमा बनेका सामानलाई नेपाली ट्याग लगाएर भारत निर्यात गर्दा भारत सरकारले असहमति जनाएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा उत्पत्तिको प्रमाणपत्रको महत्व राख्ने हुँदा लगानीका लागि साझेदारी आउनु राम्रो भए पनि अमेरिकी बजारमा निर्यात हुने वस्तुको कच्चा पदार्थ नेपालमै हुनुपर्नेमा वाणिज्य क्षेत्रका विज्ञहरूको भनाइ छ । 

विदेशी समानलाई नेपाली ट्याग लागेर निर्यात गरिए नेपालले पाइरहेको व्यापारको सुविधा गुम्ने मात्र होइन, नेपाली सामानको ख्याती नै ध्वस्त हुन सक्ने चेतावनी विज्ञले दिएका छन् ।

नेपाली व्यवसायीहरूले भने बाह्य लगानी र प्रविधि भित्र्याउन सके विश्व बजारमा रहेको कार्पेट तथा कपडाको माग बढ्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले भने नेपालमा वाह्य लगानी भित्रनु सकारात्मक हुने भए पनि अन्तर्राष्ट्रिय व्यापारका मूल्यमान्यताको नियमन हुनुपर्ने बताएको छ ।

भारतमा रहेका अन्तर्राष्ट्रिय ब्रान्डले आफ्ना कारखाना र प्रविधि नेपालतिर सार्ने हो भने नेपाली अर्थतन्त्रलाई टेवा पुग्न सक्छ । चीन, भियतनाम र बंगलादेशलाई पछि पार्दै भारतले हाल अमेरिकी गार्मेन्ट बजारमा ५ दशमलव ८ प्रतिशत हिस्सा ओगटेको छ । 

तर भारत र बंगलादेशका उद्योगीलाई निर्वाध रूपमा आफ्ना उत्पादमा नेपालको ट्याग मात्र लगाउने हो भने त्यसले नेपाली उत्पादनको विश्वसनियता मात्र गुम्दैन, देशले पाउँदै आएको सुविधासमेत गुम्न सक्ने जोखिम छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।