दशैंमा पनि महोत्तरीका स्थानीय बजार सुनसान, भएन व्यापार

आश्विन १४, २०८२ |विकास आर्या
दशैंमा पनि महोत्तरीका स्थानीय बजार सुनसान, भएन व्यापार

महोत्तरी । विगतका वर्षमा दशैं अघिनै महोत्तरीका स्थानीय बजारमा कपडादेखि दैनिक उपभोगका सामान खरिद गर्नेको भीडले व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । 

बजारमा मानिसको चहलपहलले दशैंको व्यापारले राम्रो मुनाफा पाइने आशामा व्यवसायी खुसी हुन्थे । यसपाली भने दशैंमा समेत बजार सुनसान छ, त्यसैले व्यवसायीमा कुनै उत्साह छैन । उता सीमामा भारतीय बजारमा भने यतिबेला नेपाली उपभोक्ताको भिडभाड छ ।

विगतमा दशैंको समय राम्रो आम्दानी हुने गरेको जलेश्वरका व्यापारीहरू बताउँछन् । तर यो वर्ष त दशैंमै पनि मुस्किलले दिनमा ५/६ जना ग्राहक मात्रै आउने गरेको उनीहरूको गुनासो छ । भारतीय सीमावर्ती क्षेत्रका भिठ्ठामोड, सुरसण्ड,मधवापुर बजारहरुमा सयौं नेपालीहरू हुल बाँधेर किनमेलगर्न जान्छन् । 

त्यसको असरले जलेश्वर, मटिहानी, सम्सीको व्यापार घटेको हो । सर्वसाधारण भने स्थानीय बजार भन्दा आधा मूल्यमा भारतीय बजारमा सामान पाइने हुनाले त्यहाँ जानुपर्ने बाध्यता रहेको सुनाउँछन् । महोत्तरीसँग भारतको ३९ किलोमिटर खुला सीमाना छ। 

भारतको सीमावर्ती क्षेत्रका विभिन्न बजारमा नेपालीहरू ठूलो संख्यामा किनमेल गर्न जान्छन् । सिमावर्ती भारतीय बजारहरू नेपाली ग्राहकमा निर्भर रहेको साथै राम्रो आम्दानी हुने गरेको त्यहाँका व्यापारी बताउँछन् । सीमामा भएका ७ मध्ये ५ छोटी भन्सार बन्द भएका कारण राजश्व तिर्नुपर्ने समेत बाध्यता छैन । 

द्वन्द्वकालमा बन्द भएको सीमावर्ती रघुनाथपुर बजार र सिमासँग जोडिएको बथनाहा, कटैया र पोखर भिण्डा इठर्वाकट्टीमा छोटी भन्सार सञ्चालनमा आएका छैन । सरकारले छोटी भन्सार फेरि सञ्चालनमा ल्याए यहाँको व्यापार फस्टाउने व्यवसायीको विश्वास छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।