जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ, गत वर्षको तुलनामा उत्पादन भने झन्डै ४० प्रतिशत घट्यो

भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ, गत वर्षको तुलनामा उत्पादन भने झन्डै ४० प्रतिशत घट्यो

जुम्ला । स्याउमा परिपक्कता र गुलियोपना भरिएसंगै जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । 

जिल्लाको तल्लो क्षेत्रका किसानले स्याउ टिपेर व्यापारीलाई बेचिसकेका छन । तर माथिल्लो क्षेत्रका किसानहरूले धमाधम स्याउ टिपिरहेका छन् ।

जिल्लाको एक नगरपालिका,सात गाउँपालिकाका ६० वटै वडामा स्याउ टिप्न थालिएको हो । यो पटक स्याउको उत्पादन कम भएको र गुणस्तरीय फल लागेकोले ब्यापारीहरु बगैंचामै पुगेर स्याउ खरिद गरिरहेका छन । 

बगैंचामा प्रतिकेजी ७० रूपैयाँमा स्याउ बेचिरहेको किसानहरू बताएका हुन् । जिल्लाका केही बगैंचाको स्याउ टिपेर बजारसम्म गइसकेको छ । तर लेकाली क्षेत्रको स्याउ टिप्न सुरू भएको छ ।

पहिले कृषि विकास कार्यालयले नै स्याउको मुल्य तोक्ने गरेकोमा यो पटक किसान आफैले मुल्य तोकेर स्याउ बेचिरहेका छन । यो वर्ष असिनापानी र खडेरीले स्याउको उत्पादनमा गिरावट आएको छ । यो पटक गत वर्षको तुलनामा झन्डै ४० प्रतिशत कम स्याउ फलेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

अहिले स्याउको गुणस्तर र गुलियोपना भएनभएको नापजाँच गरेर मात्र पठाइएको छ । स्याउको उत्पादन,निर्यात र आम्दानीका विषयमा तथ्यांक संकलनको काम सुरू भइसकेको कृषि कार्यालय जुम्लाले जनाएको छ ।

अहिले सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौंलगायतका सहरमा जुम्ली स्याउको किनबेच भइरहेको छ । जुम्लामा चार हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेकोमा यो पटक दुई हजार ९ सय हेक्टरमा रोपिएको स्याउले मात्र फल दिइएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.