काठमाडौं । कोरियामा रोजगारी गरी फर्किएका युवाहरूले सिन्धुलीको सुनकोशी गाउँपालिकाको रातमाटेमा एकीकृत परियोजनामा लगानी गर्ने भएका छन् ।
नेपाल-कोरिया उद्यमी व्यवसायी संघ नै गठन गरेका युवाहरूले ५ सय ७० रोपनी जग्गा भाडामा लिई होटल तथा रेष्टुरा, विद्युतीय चार्जिङ स्टेसन, वाटर पार्कलगायतका पूर्वाधारमा लगानी गर्न लागेका हुन् ।
युवाहरूलाई लगानी गर्न सरकारले जग्गा प्राप्तिको अनुमति दिइसकेको छ । कोरियाबाट थप लगानी भित्र्याउन र फर्किएकाहरूलाई स्वरोजगार बनाउन परियोजना सुरू गर्न लागिएको हो ।
सिन्धुली, काभ्रे, रामेछापलगायतका जिल्लामा उत्पादित कच्चा पदार्थको उपयोग गरी रोजगारी सिर्जना गर्ने लक्ष्य युवाको छ । बीपी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक लक्षित गरी परियोजना सञ्चालन गर्न लागिएको हो ।