तिलोत्तमा सहकारी घोटाला : १८०४ उजुरी, ३३ करोड बचत संकटमा

भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिलोत्तमा सहकारी घोटाला : १८०४ उजुरी, ३३ करोड बचत संकटमा

रूपन्देही । रूपन्देहीको तिलोत्तमामा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो रकम हिनमामिना गरेको भन्दै बचत फिर्ता गरिदिन एक हजार ८ सय ४ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

रूपन्देही प्रहरीले आफ्नो रकम ठगी वा हिनामिना भएको भए प्रमाणसहित इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिन आग्रह गरेको थियो । यसअनुसार भदौ २० सम्ममा एक हजार ८ सय ४ जनाले उजुरी दिएको प्रहरीले जनाएको छ ।

रकम हिनामिना गरी सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुली फरार भएका थिए । व्यवस्थापक पराजुली पछि पक्राउ परे पनि अन्य दुई जना अझै फरार छन् । सहकारीमा शेयर सदस्यको करिब ३३ करोड रूपैयाँ बचत छ।

छानबिन समितिले एक महिनामा तयार पारेको प्रतिवेदनमा अध्यक्ष, सचिव र व्यवस्थापक गरी तीन जनाले १२ करोड हिनामिना र २५ करोड रूपैयाँ अपचलन भएको पुष्टि भएको छ । 

उनीहरुविरूद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा किटानी जाहेरी दर्ता भएको छ । तर, दुई हप्ता बितिसक्दा पनि मुद्दा दर्ता भएको छैन । बचतकर्ताहरू भने आफूहरूको रकम फिर्ता गर्न माग गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.