काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेका कारण आज कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिन्छ । अहिले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ भने देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।