खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइनबाट

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइनबाट

काठमाडौं । खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सेवा अबदेखि अनलाइनबाट हुने भएको छ ।

सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन सेवा उपलब्ध गराएको हो । खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । 

यो प्रणाली खाद्य उद्योगी व्यवसायीहरुको सहजताका लागि संचालनमा ल्याइएको उहाँले बताउनु भयो । महानिर्देशक कर्णकाअनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६(ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकताअनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था रहेको छ । 

सो ऐनको दफा ८ मा खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ को खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुने उल्लेख छ । उहाँले यी तीन वटै दफाहरुलाई चुस्तदुरुस्त तरिकाले सेवा प्रवाह गर्नको लागि मंगलबारबाट विभागले नेफिल्स प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

महानिर्देशक कर्णले नेफिल्स प्रणाली ‘पेपरलेस’ र ‘फेसलेस’ हुने बताउनु भयो । यसले उद्योगी व्यवसायीहरुले घर-अफिसमै बसेर लगईन आईडी क्रियट गरी उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी र नविकरणको लागि आवश्यक कागजातहरु नेफिल्समा भर्न सकिने उहाँले जानकारी दिनुभयो । 

उहाँकाअनुसार सेवाग्राहीले कागजात अपलोड गरिसकेपछि विभागको कर्मचारीले मनिटरिङ गर्नेछन् । सबै कागजात मिलेमा सेवाग्राहीको ईमेलमा अनुमतिपत्र तयार भएर जानेछ, भने नमिलेमा, कुन नमिलेको हो भन्ने जानकारीसहित फेरि भर्न अनुरोध जानेछ । ग्राहकले नमिलेका कागजातलाई फेरि अपलोड गर्न सक्नेछन् । खाद्य उद्योगको नमूना ल्याउन बाहेक अरु कार्यको लागि विभाग धाउनुपर्ने अवस्थाको अन्त्य भएको महानिर्देशक कर्णले बताउनु भयो ।

उहाँले यस सिष्टम देशभरी नै लागू गर्ने विभागको योजना रहेको बताउनु भयो । हाल विभाग र विभाग अन्र्तगतको हेटाैँडा कार्यलयबाट सेवा सुरु भएको उहाँले भनाइ छ । 

क्रमश विभाग अन्तर्गत रहेका विराटनगर, जनकपूर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि असोजको पहिलो हप्ताबाट सेवा सुचारु गर्नेगरि तयारी गरेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि कर्मचारीहरुलाई तालिम, प्रशिक्षण दिने काम भइरहेको उहाँको भनाइ छ ।

महानिर्देशक कर्णले नेफिल्स प्रणालीलाई सेवाग्राही र कर्मचारीमैत्री बनाएको बताउनु भयो । यद्यपि सुरुमा सेवाग्राहीहरुलाई केहि झन्झट भने लाग्नसक्ने उहाँको भनाइ छ । 

पहिला विभागमा बुझाउनुपर्ने प्रमाणपत्रहरु अहिले अनलाइनमा अपलोड गर्नुपर्ने भएकोले केही झन्झट लाग्नु स्वभाविक पनि भएको उहाँले बताउनु भयो । उहाँले एकपटक अफलोड गरेपछि फेरि ती सबै प्रमाणपत्रहरु अपलोड गरिराख्न नपर्ने जानकारी दिनुभयो ।

उहाँले नेफिल्स प्रणालीले कामलाई छिटो र पारदर्शी बनाउने बताउनु भयो । विगतमा ३ महिना, ६ महिनासम्म लाग्ने कामहरु अब बढीमा १५ दिनभित्र हुने उहाँको दाबी छ । उहाँले नविकरण १ हप्ताभित्रै हुने बताउनु भयो ।

महानिर्देशक कर्णले नेफिल्समा जी कोडको व्यवस्था पनि गरिएको जानकारी दिनुभयो । यसले उद्योगीहरुको उद्योग कहाँ छ ? भनेर सजिलै पत्ता लगाउन सकिने उहाँले बताउनु भयो । 

विगतमा नक्शा बनाउने प्रचलन रहेको उल्लेख गर्दै उहाँले त्यसबाट उद्योग रहेको ठाउँ फेला पार्न नै मुस्किल हुने गरेको बताउनु भयो । जी कोडको व्यवस्थाले विभागबाट अनुगमनको लागि जाने निरिक्षकहरुलाई पनि सहजता हुने उहाँको भनाइ छ ।

विभागकाअनुसार खाद्य उद्योगी व्यवसायीले www.neffils. dftqc.gov. np साइटबाट यो सेवा उपयोग गर्न सक्नेछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.