जनकपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने

भाद्र १७, २०८२ |अनिल मिश्र
जनकपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने भएको छ ।

मधेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरू प्रति सर्वसधारणको आकर्षण बढाउने, स्थानीय स्तरमा उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू सृजना गर्ने उदेश्यका साथ पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०२५ आयोजन गर्न लागेको हो ।

आगामी कार्तिक २७ देखि ३० गते सम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने प्रदर्शनीमा विभिन्न देशका दुई सय भन्दा बढी कम्पनी तथा संस्थाहरूको सहभागिता रहने उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले जानकारी दिनुभयो । 

४ दिन सम्म चल्ने सो कार्यक्रममा घरेलु, साना तथा मझौला उद्योगहरूको स्थापनाका लागि चाहिने अत्याधुनिक उपकरण, मेसिनरी सामग्री लगायतका उत्पादनहरू प्रदशन गरिनेछ। 

यसका साथै उद्योग संचालन, व्यवस्थापन, वित्तीय जानकारी तथा बजार विस्तार सम्बन्धी विशेष प्रशिक्षण तथा परामर्श सत्रहरू समेत उपलब्ध गराईने प्रदेश सरकारको योजना छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।