सिन्धुपाल्चोकमा ड्रागनफ्रुट खेतीप्रति किसानको आकर्षण, व्यवसायिक कृषिको नयाँ सम्भावना

श्रावण २०, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोकमा ड्रागनफ्रुट खेतीप्रति किसानको आकर्षण, व्यवसायिक कृषिको नयाँ सम्भावना

सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकमा किसानको 'ड्रागनफ्रुट' खेतीप्रति आकर्षण बढ्दै गएको छ । 

एक पटक लगाएको बिरूवाबाट वर्षौंसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर किसान व्यवसायिक ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन् । यसले सिन्धुपाल्चोकमा व्यवसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१४ डडुवाका ज्ञानेन्द्र मैनालीले ड्रागनफ्रुट खेती दुई वर्षअघि सुरू गर्नुभएको थियो । सात रोपनी जमिनमा लगाएको ड्रागनफ्रुट अहिले राम्रो आम्दानी दिन थालेको छ । 

उहाँले वर्षमा दुई पटक फलहरू स्थानीय बजारमै प्रतिकिलो ३ सय ५० देखि ४ सय रूपैयाँसम्म बिक्री गर्दै आउनुभएको छ । वर्षमा करिब-करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेका मैनाली परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित हुनुहुन्छ ।

त्यस्तै साँगाचोकको पोखरेमा चौतारा छापका शुशिल श्रेष्ठका करिव पाँच रोपनी जग्गामा ड्रागनफ्रुटको खेती छ । करिब चार सय बिरूवा रोपिएको छन् । अहिले सबै बोटबाट रातो र सेतो जातका ड्रागनफ्रुट फल उत्पादन भइरहेको छ । 

कतिपय फल होटलमै प्रयोग हुन्छ भने कुनै व्यापारीहरू बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । जेष्ठदेखि कात्तिकसम्ममा दुई पटक फल बेचेर उहाँले आम्दानी गर्दै आउनुभएको छ ।

मनग्य आम्दानी हुने भएपछि सिन्धुपाल्चोकका किसानले परम्परागत खेती छाडेर व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् । थोरै सिँचाइ, कम मल, रोग कम लाग्ने र दीर्घकालीन उत्पादन दिने भएकाले यो खेती किसानका लागि लागि लाभदायक हुँदै गएको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका किसानको उत्पादन वृद्धि गराउन उत्पादनको आधारमा अनुदान र धेरै उत्पादन भए फल सुरक्षित राख्नका लागि चिस्यानकेन्द्र पनि रहेको छ ।

कृषि प्राविधिकहरूका अनुसार ड्रागनफ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपयुक्त छ । यो खेती एक पटक लगाएपछि १५-२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकाले कृषकहरूका लागि लाभदायक विकल्प हो । 

ड्रागनफ्रुट खेतीले सिन्धुपाल्चोकमा व्यवसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।