सङ्खुवासभा । संखुवासभाको पर्यटकीय तथा ऊर्जा पूर्वाधारमा तीव्र लगानी हुने उर्जा, जलश्राेत तथा सिंचाई मन्त्री दीपक खड्काले बताउनुभएकाे छ ।
उर्जामन्त्रालयकाे सहयाेगमा शुक्रबारबाट खाँदबारीमा सुरू भएकाे पावर हाउस अपरेसन एण्ड मेन्टेनेन्स’ तालिमकाे उद्घाटन गर्दै उहाँले सङ्खुवासभामा निर्माणका चरणमा रहेको जलविद्युतका बारेमा जानकारी गराउँदै ती आयोजनाबाट रोजगारी, आर्थिक विकास र स्थानीय पूर्वाधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयाे।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत सञ्चालित ‘इन्श्योर परियोजनाको सहकार्यमा संखुवासभाका १० वटा स्थानीय तहमा सञ्चालित प्राविधिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि २० दिने (१२० घण्टा) ‘पावर हाउस अपरेसन एण्ड मेन्टेनेन्स’ तालिम सञ्चालन भएकाे हाे ।
तालिम बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी, बालाजु काठमाडौंमा आयोजना गरिएको हो। तालिममा १० स्थानीय तहका ३० जना विद्यार्थीहरूको सहभागिता रहेको छ।
तालिममार्फत जलविद्युत् आयोजना सञ्चालन, मर्मत तथा व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रशिक्षक तथा आयोजक संस्थाका प्रतिनिधिहरूले तालिमले विद्यार्थीहरूलाई दक्ष जनशक्ति बन्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए।
संखुवासभा जस्तो जलविद्युत् सम्भावना भएको जिल्लाबाट आएका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा पावर हाउस सञ्चालनको अनुभव गराउनु परियोजनाको मुख्य उद्देश्य भएको आयोजकले जनाएको छ।