मनाङमा नार्पाभूमिबाट मतपेटिका हेलिकप्टरमार्फत ल्याइने, मतगणना भाेलिबाट

मतगणना शुक्रबार बिहान १० बजेबाट सुरू हुने
फाल्गुन २१, २०८२ |आश गुरुङ
मनाङमा नार्पाभूमिबाट मतपेटिका हेलिकप्टरमार्फत ल्याइने, मतगणना भाेलिबाट

लमजुङ । हिमाली जिल्ला मनाङमा मतदान सकिएसँगै मतपेटिका संकलन सुरू भएको छ । 

मतगणनास्थल सदरमुकाम चामेस्थित कृषि तथा पशु विकास कार्यालय पशु सेवा शाखामा मतपेटिका संकलनकार्य सुरू भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयाे । उहाँकाअनुसार गाडीबाट ल्याउने सबै मतपेटिका बिहीबार राति साढे ८ बजेसम्म मतगणना स्थल ल्याइसक्नेछन् । 

नार्पाभूमि गाउँपालिकाको मतदान केन्द्र जान दुई दिन लाग्ने बाटो भएकोले हेलिकप्टरमार्फत ल्याइने उहाँले बताउनुभयाे । उहाँकाअनुसार बिहीबार मतपेटिका ल्याउनको लागि समय अभाव भयो र मौसम पनि राम्रोसँग खुलेन । शुक्रबार बिहानै हेलिकप्टर मतपेटिका लिन जाने र बिहान १० बजेदेखि मतगणना सुरू गरिने उहाँले जानकारी दिनुभयाे ।

मनाङमा ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नार्पाभूमि गाउँपालिकामा कम मत खसेको छ । कुल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार २१ मत खसेको प्रारम्भिक रिपोर्ट छ । सिंगो नार्पाभूमि गाउँपालिकामा ४ सय ८८ मतदाता रहेकोमा १ सय २१ मत अर्थात् २४ दशमलव ७९ प्रतिशत मत खसेको छ । 

मनाङमा एउटा अस्थायीसहित २९ मतदानस्थलमा २९ मतदान केन्द्र छन् । चारवटा गाउँपालिका रहेको मनाङमा २८ वटै वडामा वडैपिच्छे मतदान केन्द्र छन् । मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ मतदाता छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निवाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । 

अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनको तुलानामा यसपटक २ सय २१ मतदाता थपिएका थिए ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।