बाजुरामा ५१ प्रतिशत मत खस्यो,मतपेटिका संकलन हुँदै

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाजुरामा ५१ प्रतिशत मत खस्यो,मतपेटिका संकलन हुँदै

बाजुरा । बिहीबार सम्पन्न भएको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता संख्याको ५१ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार एक सय १८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको जनाएको छ ।  ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभएकाे छ ।

हिमाली जिल्ला भएकोले यहाँकाे निर्वाचन विगतका निर्वाचन भन्दा फरक भएको पाइएको छ । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयाे।

मतदान कार्य सकिएपछि मत पेटिका संकलन भइरहेको छ । दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत आज नै जिल्ला सदरमुकाम मार्तडीमा पुर्याइएको छ ।

अन्य तीन मतदान केन्द्र बौडी,बाम र विच्छ्याको मत पेटिका विच्छ्या प्रहरी चौकीमा संकलन गरिने र शुक्रबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलको भनाई छ ।

जिल्ला सदरमुकाम मार्तडी आसपासका मत पेटिका मत गणनास्थल रहेको जिल्ला समन्वय समिति बाजुरामा पुगेको र अन्य क्षेत्रको मत पेटिका सुरक्षाकर्मीले ल्याउने गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयाे ।

सडक क्षेत्र पुगेका मतदान केन्द्रहरुमा सवारी साधनमा आज राति नै नेपाली सेना सहितको सुरक्षामा मतपेटिका ल्याउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई छ ।

यहाँ ८७ हजार ८६१ मतदाता रहेका छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य मतदाता छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.