काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी शैक्षिक परामर्शदाता संस्थामाथिको कारबाही तीब्र बनाएको छ । विभागले बुधबार पनि अनुगमन गरी ८ वटालाई कारबाही गरेको हो ।
विभागले बुधबार काठमाडौंका १५ वटा संस्थाहरूको अनुगमन गरेकोमा ८ वटा विना दर्ता र नवीकरण नै नगरी सञ्चालनमा रहेको पाइएका हुन् । त्यस्ता संस्थालाई १ लाख रुपैयाँसम्म कारबाही गरिएको विभागका निर्देशक भरतप्रसाद आचार्यले जानकारी दिनुभयो ।
विभागले साउन १ यता एक सय वटा परामर्शदाता संस्थाहरूको अनुगमन गर्दा ७५ प्रतिशत अवैध रूपमा सञ्चालनमा रहेको पाइएको विभागले जनाएको छ ।
शिक्षा मन्त्रालयका अनुसार १४ सय ७३ शैक्षिक परामर्शदाता संस्थामध्ये ७ सय २० वटाले मात्र नवीकरण गरेका छन् । बाँकी ७ सय ५३ वटा नवीकरण नगरी सञ्चालनमा थिए ।
नेपाल शैक्षिक परामर्शदाता व्यवसायी महासंघले देशभर ५ हजारभन्दा वढी परामर्शदाता संस्थाहरू सञ्चालनमा रहेको जनाएको छ । अधिकांश परामर्शदाता संस्थाहरू गैरकानूनी रूपमा सञ्चालनमा रहेको पाइएपछि शिक्षा मन्त्रालयले एक पटक फेरि नवीकरणका लागि मौका दिन लागेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिनुभयो ।