
सिन्धुपाल्चोक । चीनस्थित तिब्बतको न्यालम प्रशासनले कन्टेनर आवतजावतमा कडाइ गरेपछि नेपाली व्यवसायीले किनेका करोडौं मूल्यका मालवस्तु महिनौंदेखि बाटैमा थुनिँदा व्यवसायी मर्कामा परेका छन् ।
रसुवा नाका बन्द भएपछि असार यता ढुवानी गरिएको सामान अझैसम्म पनि तिब्बती क्षेत्रमै छ । लामो समयसम्म सामान नेपाल भित्रिन नसक्दा आयातकर्ता मर्कामा परेका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले नेपाल निर्यात हुने मालवस्तुको जाँचपासमा गरेको ढिलाइले दशैंअघिदेखि करिब पाँच सय कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन्।
तातोपानीबाट ढुवानीका साधन न्यून संख्यामा मात्रै आउजाउ गर्न दिँदा धेरै सामान चिनियाँ क्षेत्रमै अड्किएका छन् । खासा हुँदै ४४ किलोमिटर नेपालतर्फ तातोपानी नाका भएर सीमित कन्टेनरहरू मात्रै पास हुँदा नेपाली व्यवसायीको व्यापार व्यवसाय नै प्रभावित बनेको छ ।
यो नाकाबाट सामान आयातमा व्यापारीले सधै समस्या भोग्नुपरेको छ । नाका खुलेदेखि नै चीनले नेपालतर्फ तातोपानी पठाउने मालवाहक कन्टेनरको संख्या सीमित गर्दै आएको छ । व्यवसायीलाई न्यालामसम्म सामान ल्याउन दिए पनि तातोपानी नाका पठाउन भने आलटाल गर्दा धेरै नोक्सान भोग्नुपरेको व्यवसायीको गुनासो छ ।
यस विषयमा ल्हासास्थित नेपाली महावाणिज्य दूत र बेइजिङस्थित अधिकारीहरूसँग छलफल भइरहेको सिन्धुपाल्चोक प्रशासनको दाबी छ । नोभेम्बरमै नेपाल-चीन स्थानीय अधिकारीबीच समन्वय बैठक बस्ने र कन्टेनर जाँचपासबारे औपचारिकरूपमा छलफल गरिने जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ ।
व्यवसायीहरूका अनुसार फलफूलजस्ता छिटो बिग्रने वस्तु 'ग्रीन च्यानल'मार्फत छिटो पास गर्नुपर्ने अन्तर्राष्ट्रिय नियम भए पनि चिनियाँ अधिकारीले अनावश्यक रूपमा ढिलाइ गर्दैआएका छन् । सरकारले कूटनीतिक पहल गरेर समस्या समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ ।