सांसद तामाङको आरोप: रामेछापलाई अन्यायपूर्ण बजेट दिएर शहरी विकास मन्त्रालयले गलत तथ्याङ्क दियो

असार १८, २०८२ |नवराज श्रेष्ठ
सांसद तामाङको आरोप: रामेछापलाई अन्यायपूर्ण बजेट दिएर शहरी विकास मन्त्रालयले गलत तथ्याङ्क दियो

रामेछाप । रामेछापका प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम)ले शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा रामेछाप जिल्लामा अन्यायपूर्ण ढंगले न्यून बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ।

बुधबार रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार भेटघाट कार्यक्रम गरी पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीसमेत रहनुभएका तामाङले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रतिनिधिसभामा प्रस्तुत गरेको तथ्याङ्क भ्रामक रहेको दाबी गर्नुभयो।

सांसद तामाङकाअनुसार यही असार ८ गतेको बैठकमा रामेछाप जिल्लामा शहरी विकास मन्त्रालयले कम बजेट विनियोजन गरेको विषयमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । 

त्यसको जवाफमा मन्त्री सिंहले जनसङ्ख्या र बजेटको अनुपात मिलाएर बजेट बाँडफाँट गरिएको बताउनुभएको थियो । तर सांसद तामाङले मन्त्री सिंहको उक्त दाबी तथ्यहीन भएको उल्लेख गर्नुभयो।

शहरी विकास मन्त्रालयको रातो किताबअनुसार, रामेछाप जिल्लाका लागि शीर्षक संख्या ५७ मात्रै रहेको र तीमध्ये २६ वटा पुराना योजनामा ५५ करोड ७८ लाख र नयाँ ३१ वटा योजनामा ९ करोड ५१ लाख ८० हजार रूपैयाँ मात्र विनियोजन गरिएको उहाँले उल्लेख गर्नुभयो। 

यसरी हेर्दा कुल बजेट ६५ करोड २९ लाख मात्रै हुने र मन्त्री सिंहले संसद्मा प्रस्तुत गरेको ८४ करोडको विवरण गलत भएको उहाँको तर्क छ।

तामाङकाअनुसार, मन्त्रीले प्रस्तुत गरेको जनसंख्याको आधारमा ०.८ प्रतिशत जनसङ्ख्याका लागि ०.७ प्रतिशत बजेट विनियोजन गरिएको भन्ने तर्क समेत तथ्यहीन हो। 

उहाँले भ्रमपूर्ण विवरण संसद्मा प्रस्तुत गरेर जनप्रतिनिधि तथा आम जनतालाई गुमराहमा पार्ने प्रयास भएको बताउनुभयो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।