काठमाडौं । नेपाली साहित्यको ९१ वर्ष पुरानो प्रतिष्ठित मासिक पत्रिका ‘शारदा’ले यसपटक साहित्यिक इतिहासमै एक अनौठो र स्मरणीय प्रयोग स्वरूप ‘हस्तलिखित कविता अङ्क’ प्रकाशित गरेको छ।
६७ जना कविहरूका हस्तलिखित रचना सङ्कलन गरेर शारदाको नयाँ अङ्क प्रकाशित गरिएको हो । सम्पादक विमल भौकाजीले ‘डट्पेन/कलमले लेख्न करीब बिर्सिसकेको यो डिजिटल जमाना’मा कविहरुको आफ्नै अक्षरमा हस्तलिखित कविता प्रकाशन गरेर अध्येताहरुका लागि उपयोगी अंक तयार पारेको जानकारी दिनुभयो ।
वि.सं. १९९१ मा सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादनमा काठमाडौंबाट प्रकाशन प्रारम्भ भएको ‘शारदा’ले कवि शिरोमणि लेखनाथ पौड्यालदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरे, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्य सम्राट् बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षुजस्ता कालजयी स्रष्टाहरूको सिर्जना प्रकाशित गर्दै आएको गौरवपूर्ण इतिहास बोकेको छ।
यस अंकमा कविहरूमा पुष्कर लोहनी, विनोद नेपाल, सुनील पुरी, उषा शेरचन, अशेष मल्ल, किशोर पहाडी, कृष्ण बाउसे, सुमन थापा संगम, मणि लोहनी, भागीरथी श्रेष्ठ, प्रदीप सापकोटा, अनुराधा ढकाल, डा. विप्लव ढकाल, डा. रूपक श्रेष्ठ लगायत समकालीन साहित्यका सशक्त हस्तीहरू समावेश हुनुहुन्छ ।
शारदाको इतिहासमै पहिलोपटक प्रकाशित यस ‘हस्तलिखित कविता अङ्क’लाई साहित्यिक संस्कृतिको संरक्षण र भावनात्मक अभिव्यक्तिको प्रत्यक्ष प्रमाणका रूपमा लिइएको छ। यस विशेष अङ्कमा समावेश कविताहरू साहित्यिक मौलिकताको मात्र नभई भावनात्मक छाप र लिपिबद्ध संस्कृतिको महत्व दर्शाउने अमूल्य प्रयासका रूपमा हेरिएको छ।