झापा । झापामा हरियो चियापत्ती उत्पादन हुने मुख्य सिजन हो वर्षायाम । तर चिया उत्पादन हुने मुख्य सिजनमै लुपर क्याटरपिलर किराले आधा चिया बगान सखाप पारेको छ ।
रातमा बढी हरिया पात खाने भएकोले दुई तीन रातमै बगान सखापै हुन्छ । बगानमा विषादी छर्के पनि यो वर्ष काम नगरेको किसानको गुनासो छ । झापाको चिया बगानमा ५० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोग लागेको चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय विर्तामोडको तथ्यांक छ ।
झापामा १० हजार ५ सय हेक्टरमा चिया खेती विस्तारित छ । तर अहिले आधाजसो चियाको बोट लुपर क्याटरपिलर किराले पूर्णरूपमा नष्ट गरिदिएको छ । ७/८ वर्षअघि सामान्य कीटनाशक विषादीले यो किरा मर्ने गर्दथ्यो ।
अहिले कडा खालको विषादीले समेत असर गर्न छाडेको छ । जसका कारण हरियो पत्ति सखाप हुँदै गएको छ । सरकारी पक्षबाट समस्या समाधानको अपेक्षा बगानवालाले गरेका छन् ।
दुई वर्षअघि प्रयोग गरेको विषादीले अहिले काम गर्न छाडेको एग्रोभेटका व्यापारी बताइरहँदा किसान भने अब जैविक विषादीमा जानुको विकल्प देख्दैनन् । पुतलीले अण्डा पार्ने र अण्डाबाट लार्भा हुँदा कतिपय ठाउँमा लाइट ट्यापर राख्न थालिएको छ ।
चिया बगानको इकोसिस्टम बिग्रिएको कर्मचारी बताउँछन् । बगानभित्र मित्रजीवले लुपरलगायत अन्य शत्रु जीव खाने गर्दथ्यो । तर कडा खालको विषादी प्रयोगले मित्रजीव नाष्ट भएकाले प्रकोप नियन्त्रणभन्दा बाहिर जानलागेको हो ।
ग्रीन गोल्डको उपनाम दिइएको हरियो पत्ति, लुपर क्याटरपिलर किराले ५० प्रतिशत नष्ट गरेको छ । लुपरको २५ दिनको चक्र हुन्छ । यदी दोस्रो चरणमा गए बोट नै मरेर जान्छ । सरकारले रोगको उचित उपचार गरिदिए किसानलाई राहत मिल्ने थियो ?