काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले बिदाइ गर्नुभएको छ।
प्रधानमन्त्री ओली कतार एयरवेजको जहाजबाट दोहा हुँदै स्पेन प्रस्थान गर्नुभएको हो । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुहुने छ भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली असार २० गते फर्कने तालिका छ। २१ सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ लगायत छन् ।