एमआरपी कार्यान्वयनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कडाई, ९२ कम्पनीलाई जरिवाना

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमआरपी कार्यान्वयनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कडाई, ९२ कम्पनीलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रूपैयाँ जरिवाना गरेको जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित व्यावसायिक फर्म तथा उद्योगहरूको स्थलगत अनुगमनका क्रममा उक्त जरिवाना गरिएको बताउनुभएको हो । 

बजार अनुगमनका क्रममा कुल ७ सय १३ वटा व्यावसायिक फर्म तथा उद्योगहरूको स्थलगत अनुगमन गरिएको र अनुगमनका क्रममा कानून विपरित व्यापारिक गतिविधि सञ्चालन गरेको पाइएका ९२ वटा फर्म तथा उद्योगलाई कुल १ करोड ९२ हजार रूपैयाँ जरिवाना गरिएको महानिर्देशक दाहालले जानकारी दिनुभयो । 

उहाँले उपभोक्ता संरक्षण ऐनले तोकेको व्यवस्था कार्यान्वयन गर्न आग्रह गर्दै उत्पादक र पैठारीकर्तालाई वस्तुमा नेपाली वा अंग्रेजी भाषामा एमआरपी अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराउनु भयो । 

महानिर्देशक दाहालले हाल बजारमा सिमेन्ट र डण्डी, सवारी साधनका पार्टस्, खाद्य वस्तु, जुत्ता चप्पल, निर्माण कार्यमा प्रयोग हुने सामग्री, सर्जिकल सामान, रेडिमेट कपडा, बिजुली, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सामान, सौन्दर्य प्रदायक सामानहरू लगायतका बजार वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य राख्नका लागि सरोकारवालाहरूलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

विभागले कतिपय व्यवसायीहरूले एमआरपीबारे अनविज्ञता प्रकट गरेको बताउँदै आफूहरूले वस्तु र सेवा दुवैतर्फ अनुगमन गरेको दाबी गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.